लोककवि अलिमियाँको आठौं स्मृति दिवस तथा प्रतिष्ठानको तेह्रौं साधारणसभा

Share:

रञ्जन अधिकारी पोखरा, १८ साउन / लोककवि अलिमियाँको आईतबार आठौं स्मृति दिवस, दिवसको अवसर पारी अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले तेह्रौं वार्षिक साधारणसभा समेत सम्पन्न ग¥यो । सो अवसरमा गीतकार तथा गायिका अम्बिका भण्डारीको तीजको भिसिडी आमाको सम्झनाको लोकार्पण समेत गरिएको थियो ।

अलिमियाँलाई सम्झँदै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्राज्ञ सरुभक्तले नेपाली लोक संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका लोककवि अलिमियाँको नाममा पोखरामा जन्मेको यो प्रतिष्ठानले लोक साहित्य तथा लोकसंगीतको प्रतिनिधिका रुपमा चिनारी दिन सकेकोमा खुशी व्यक्त गरे । ‘लोक साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्छ तर सामान्य किसिमले मात्र हुँदैन । लोक साहित्य यति गहन विधा छ ।’ सरुभक्तले भने – ‘युग सुहाउँदो विकास गर्दै संस्कृतिलाई लान सकेमात्र पुस्तौं पुस्तासम्म जीवित रहनेछ ।’ पुर्खाहरुले दिएको सम्पति भन्दै सोहि अनुसार बोक्दै अघि बढे संस्कृति संकटमा पर्ने उनको ठम्याई छ । तर यसमा विकृति मिश्रण गर्न नहुने बताए ।

अर्को प्रसंगमा उनले तीज पर्वमा अनुशासनहीनता, फजुल खर्च बढ्दै गएको भन्दै असन्तुष्टि जनाए । परिवारसँग बसेर हेर्न नमिल्ने, सुन्न नसकिने गीतहरु आउन थालेकोमा उनले चिन्ता जनाए ।

शिक्षाविद् डा. गणेशबहादुर गुरुङले प्रतिष्ठानले लोकगीत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गर्दै प्रगतिको कामना गरे ।

प्रतिष्ठानका सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जिल्ला जिल्लामा गएर लुकेका श्रष्टालाई खोजी खोजी सम्मान गरेर अग्रज संस्थाको रुपमा आफूलाई स्थापित गराएको प्रतिष्ठानले राम्रो कार्य गरेको भन्दै खुशी व्यक्त गरे । ‘लोक गीत संग्रहालय स्थापना प्रक्रिया तत्काल अिघ बढाईनुपर्छ ।’ उनले भने ।

प्रमुख अतिथि सरुभक्तले गायिका अम्बिका भण्डारीको नयाँ तीजे भिसिडी लोकार्पण गरेका थिए । प्रतिष्ठानका संरक्षक सदस्य समेत रहेका रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले तीजका गीत चेलीबेटीको मनको अभिव्यक्ति भएपनि पछिल्लो क्रममा दोहोरी र जुहारी गीत बनेकोमा चिन्ता व्यक्त गर्दै भण्डारीले बजारमा ल्याएको जस्ता मौलिक गीतहरुको खाँचो औंल्याए । ‘मौलिक भाका धानिरहनुभएका हरिदेवी कोईरालालाई अब नयाँ पुस्ताले साथ दिनुपर्छ ।’ श्रेष्ठले भने – ‘ विकृत गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।’ उनले अलिमियाँको ईच्छा अनुसार सबै मिलेर प्रतिष्ठान गठन गरेको जनाए ।

गीतको समीक्षा गर्दै गीतकार तथा रेडियो अन्नपूर्णका समाचार संयोजक आरजु बिष्ट सल्यानीले आमाको स्मरणमा मौलिक शब्द र भाकामा तयार पारिएको यो गीत उत्कृष्ट र कर्णप्रिय रहेको बताए । हरिदेवी कोईरालाको लय तथा स्वर मिसिएको यस्तै ओझिलो गीत नै तीजे गीत भएको उनको भनाई छ ।
गीतका स्रष्टा भण्डारीले पछिल्लो समयमा तीजे गीतमा विकृति आएकाले आफूले मौलिक शब्द र भाकालाई समेटेर गीत ल्याएकाले सबैले किनेर सुनिदिन आग्रह गरिन् ।

साधारणसभामा सचिव पदमराज ढकालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तुलसी प्रवासले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोईरालाले स्वागत तथा सचिव पदमराज ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: