
बिग न्यूज
पोखरा, ८ मंसिर । कास्की जिल्ला क्षेत्र नम्बर १ मा काँग्रेसका उम्मेदवारहरु मादी गाउँपालिकालाई लक्षित गर्दै यतिबेला चुनावी अभियानलाई तिव्रता दिएका छन् । प्रतिनीधिसधा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’तर्फका उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ यतिबेला चुनावी घरदैलो अभियान अन्तरगत त्यस क्षेत्रमा छन् ।
विहिबार मिजुरेको गहतेमा चुनावी सभालाई सम्बोधन गरेपछि शुक्रबार उम्मेदवारसहितको टोली मादी गाउँपालिकामै पर्ने पाखुरीकोट, नागिधार, रबै, मुग्रीबेँशी, भाचोक लगाएत गाउँमा घरदैलोमा सहभागी भयो । उम्मेदवारहरुले त्यस क्षेत्रका मतदाताहरुसँगै लोकतन्त्र र सम्बृद्धिको लागि काँग्रेसलाई भोट हाल्न आग्रह गरे ।
भाचोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनीधिसभा उम्मेदवार यज्ञबहादुर थापाले अहिलेको स्थितीमा जनताले गल्ती गर्न नहुने बताए । उनले बामगठबन्धन अहिले गलत नियत लिएर चुनावमा होमिएको दाबी गर्दै काँग्रेसलाई भोट नहालेको खण्डमा मतदाताहरु पछि गएर पछुताउने अवस्था आउन सक्ने बताए ।
‘देशलाई सम्बृद्धि र विकासतर्फ अगाडि बढाउने बेला आएको छ । फेरि द्वन्दमा लाने खालको निर्णय मतदाताहरुले पनि गर्नुहुँदैन ।’ उनले भने । उनले बामगठबन्धनले बहुमत ल्याएको खण्डमा पुनः देश द्वन्दमा फँस्ने दाबी गर्दै त्यसो हुन नदिन काँग्रेसको पक्षमा भोट हाल्न मतदाताहरुलाई आग्रह गरे ।
त्यस्तै प्रदेशसभातर्फका उम्मेदवार कृष्ण केसीले काँग्रेस सँधै सत्यको पक्षमा उभिने पार्टी भएको दाबी गर्दै जनताले सत्यलाई विजयी गराउनुपर्ने धारणा राखे । ‘अहिले विभिन्न खालका झूटको खेती भैरहेको छ । तर काँग्रेस झूटको खेती गर्दैन । जनताको पक्षमा सँधै लडिरहन्छ ।’ उनले भने–‘सत्यको पक्षमा भोट दिनुहोला ।’ साथै उनले काँग्रेसबाट आफू निर्वाचित भएसँगै सो क्षेत्रको विकासलाई अगाडि बढाउन लागिपर्ने वचन दिए ।
त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले जनताको समस्या बुझ्ने र समाधान गर्न कहिल्यै पछाडि नहट्ने पार्टी काँग्रेसलाई भोट हालेर आसन्न निर्वाचनमा जिताउन अपील गरिन् । उनले काँग्रेसको पक्षमा जनलहर उर्लिएको बताउँदै आसन्न निर्वाचनमा सोहि जनमतको आधारमा काँग्रेसले जित्ने दाबी समेत गरिन् ।
साथै सोहि क्षेत्रमा नेपाली काँग्रेस कास्कीले चुनावलाई व्यवस्थित र चुस्त बनाउनका लागि ‘बुथ एजेन्ट’ र मतदाता शिक्षाको लागि प्रशिक्षण समेत दिने भएको छ । केन्द्रीय कार्ययोजना अनुसार पार्टीले सो क्षेत्रमा प्रशिक्षण दिन लागेको काँग्रेस कास्कीका जिल्ला सदस्य नबिन सिग्देलले जानकारी दिए ।
