
बिग न्यूज
पोखरा, ९ मंसिर । नेपाली काँग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको काँगे्रेस कास्कीले जनाएको छ ।
आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा र काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की काँग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिएका छन् । त्यस्तै आमसभामा कास्कीमा काँग्रेसबाट उम्मेदवारी दिएका प्रतिनीधि र प्रदेशसभातर्फका उम्मेदवारहरुले समेत सम्बोधन गर्नेछन् ।
आमसभामा कास्कीका तीन वटै क्षेत्रका सर्वसाधारणहरुको सहभागीता हुने नेपाली काँग्रेस कास्कीले जनाएको छ । ‘यो आमसभा चुनावलाई लक्षित गर्दै गर्न लागिएको हो । र, यसमा कास्कीका सबै क्षेत्रबाट सहभागीता हुनेछ ।’ भट्टराईले भने–‘निकै भव्य र हजारौँको संख्यामा सहभागीता हुने आमसभाको लागि तयारी निकै तिव्र पारिएको छ ।’
अमरसिंह चौरमा हुने आमसभामा ५० हजार भन्दा बढिको सहभागीता हुने काँग्रेस कास्कीको अनुमान छ । विशाल चुनावी आमसभाको सफलताको लागि काँग्रेस कास्कीले विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तिव्र पारिरहेको छ ।
