
बिग न्यूज
पोखरा, १६ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसबाट प्रतिनीधिसभाका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताले काँग्रेसको एजेण्डा बुझिसकेको र काँग्रेस जीतको नजिक भएको बताएका छन् । उनले काँग्रेसको एजेण्डा ‘लोकतन्त्र र सम्बृद्धि’लाई जनताले निकै रुचाएको पनि बताए ।
शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा घरदैलोमा पुगेका थापाले जनतालाई कसैले झुक्याएर नझुक्किने कुरा प्रस्ट पारे । जनताको घरदैलोमा पुगिरहँदा कानुन मन्त्री समेत रहेका थापाले काँग्रेसले उठाएको मुद्दामा जनताले सँधै साथ दिएको बताए । ‘यो पटक पनि हामी लोकतन्त्रको रक्षासँगै विकास र सम्बृद्धिको नारा लिएर आएका छौँ ।’ उनले भने–‘जनताले साथ दिनेछन् भन्नेमा हामी ढुक्क छौँ ।’
शनिबार थापासँगै सो क्षेत्रमा प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसी पनि घरदैलोमा गएका थिए । उनले त्यस क्षेत्रका जनतासँग आफ्नो पक्षमा भोट माग्दै सम्बृद्धिको लागि काँग्रेसको कुनै विकल्प हुन नसक्ने ठोकुवा गरे । साथै उनले अहिलेसम्म काँग्रेस नै जनताका प्रिय रहेको र अब उप्रान्त पनि रहने विश्वास व्यक्त गरे ।
उनले आफू स्थानियस्तरको विकास अनि आवश्यक पूर्वाधारको विषयमा सचेत रहेको मतदाताहरुमाझ बताए । उनले निर्वाचित भएसँगै आफूले गर्ने विकासको खाका अहिले नै तयार पारिसकेको बताउँदै सबै जनताले महशुस गर्ने गरि सम्बृद्धिलाई अगाडि बढाउने कुरामा उनले मतदातालाई आश्वस्त पारे ।
