
बिग न्यूज
पोखरा, १८ मंसिर । एमाले कास्कीका अध्यक्ष कृष्ण थापा गीत मात्र लेख्दैनन्, व्यापारको नाफाघाटा पनि अनुमान लगाउँछन् । पोखराको बाटुलेचौरको सामान्य परिवारमा जन्मेका थापाको अहिलेको आर्थिक हैसियत लोभलाग्दो छ । उनी आफैले एक कार्यक्रममा भने,–‘म व्यापार व्यवसायमा पनि सफल मान्छे हुँ, मैले कलेजमा लगानी गरेको छु, स्कूल चलाएको छु अनि सहकारीलगायतका क्षेत्रमा गरिएको लगानीमा पनि म सफल छु ।’
हो, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा व्यवसाय गर्छन । पोखरा उपमहानगरपालिकाको मेयर हुँदादेखि उनको यो व्यवसायिक धन्दा फस्टाएको एमालेवृत्तका सबैलाई थाहा छ ।‘राजनीतिमा लागेर लाभको खेती गर्नेमा अध्यक्ष कमरेड अगाडि नै हुनुहुन्छ’, उनको राजनीतिक जीवनलाई नजिकबाट नियालेका एक विद्यार्थी नेताले भने,‘पार्टीका विभिन्न पदमा रहँदा पनि उहाँको ध्याउन्न कमाउनेतर्फ नै केन्द्रित थियो ।’
सायद, यसैले हुनुपर्छ, उनी एमालेवृत्तबीच पनि ‘छुचो’ नेताको रुपमा परिचित छन् । एमालेका युवा नेता रविन्द्र अधिकारीलाई त उनले खेद्नुसम्म खेदे । माले अखिलको राजनीतिमा चर्चित बनेका रविन्द्र जब एमाले कास्कीको राजनीतिमा आए, सबैभन्दा बढी बिरोध थापाले नै गरे । एमाले जिल्ला कमिटीको सचिवबाट ७२ दिनमा नै अल्पमतमा पारेर रविन्द्रलाई हटाउने अभियानमा थापा खुलेर नै लागे । उनै थापाले अघिल्लो संविधानसभा निर्वाचनमा आफ्नै जन्मथलो बाटुलेचौरसमेत रहेको क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने मौका पनि पाए । उनको बानीकै कारण उनी जन्मथलो समेटिएको क्षेत्रबाट पराजीत भए । अहिले उनै कृष्ण थापा सुरक्षित ठाउँ खोज्दै कास्की क्षेत्र नम्बर २ को प्रदेशसभाको क क्षेत्रबाट उम्मेदवार बनेका छन् । र, सो क्षेत्रमा उनको प्रतिष्पर्धी रहेका छन्, नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता गुरु बराल ।
युवा पुस्ताको नेतृत्व गर्दै चुनावी मैदानमा आएका गुरु बराल विद्यार्थी राजनीतिबाट खारिएका मात्र हैनन्, निष्कलंक छवि भएका नेता समेत हुन् । नेपाली काँग्रेसले आफ्नो योगदानको मूल्याङ्कन गर्दै टिकट दिएको बताउने बरालले निष्ठाको राजनीतिलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएका छन् । ‘म मेरा प्रतिष्पर्धीको बारे धेरै कुरा जान्दिन, तर उहाँले जनप्रतिनिधी भएर जनताको काम के गर्नुभयो भन्नेबारे मतदाताले सोचिदिनुहोस् भन्ने अपील गर्दछु’, बरालले भने,‘ म निष्ठाको राजनीतिको हिमायती हो, युवा पुस्ताको भावना र आमा बुबाहरुको विकासको चाहना पूरा गर्न म दिलोज्यानले लाग्नेछु ।
बोल्नमा माहिर गुरु स्पष्ट भिजनसहित राजनीतिमा दावी मात्र गर्दैनन्, आफूले मौका पाएमा पोखरा र समग्र प्रदेशको विकास निर्माणका एजेण्डाहरुलाई राष्ट्रिय मुद्धा बनाउने वाचा पनि गर्छन् । ‘गुरु बराल उदीयमान युवा नेता हुन्, उनीसँग हामीले मात्र हैन, सिंगो कास्कीले ठूलो अपेक्षा गरेको छ’, उनको चुनावी अभियानमा खटिएका एक युवा नेताले भने,‘हामी जहाँ पुग्यौँ, त्यहाँका जनताले हामीप्रति देखाएको सदासयताले हामी खुसी रहेका छौँ ।’
यो पनि पढ्नुहोस्:
कृष्ण थापाले पक्का जित्ने सुरक्षा श्रोतको दाबी, कांग्रेसका बराल ७ हजार मतले हार्ने
