
२० साउन, काठमाडौं । स्पेनका मिडफिल्डर जाभी हर्नान्डेजले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले बार्सिलोनाबाट क्लब फुटबल भने खेल्नेछन् ।
३४ वर्षका जाभीले स्पेनका लागि विश्वकप र दुई पटक युरो कप जितेका छन् । १३३ क्याप जितेका छन् भने १३ गोल गरेका छन् । २० वर्षको उमेरमा २००० मा नेदरल्ल्याण्डविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए । तर, ब्राजिलमा हालै भएको विश्वकपमा भने स्पेनको प्रदर्शन निकै खराव रहृयो । पहिलो खेलमा नेदरल्याण्डसँग ५-१ को लज्जास्पद हार व्यहोरेको २०१० को विजेता समूह चरणबाटै बाहिरिएको थियो ।
बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा जाभीले भनेका छन्-’म ती वर्षहरुका लागि कृतज्ञ छु । यो एकदमै शानदार समय थियो ।’
जाभी २००८ मा युरोपियन च्याम्पियनसिपमा प्लेयर आफ दि टुर्नामेन्ट बनेका थिए । २०१२ को युरो कपपछि नै सन्यास लिने मनसाय बनाएको भएपनि प्रशिक्षकको आग्रहमा ब्राजिल विश्वकप खेलेको उनले बताए ।
सन्यासको घोषणापछि पनि उनले स्पेनको प्रशिक्षकमा अहिले पनि भिसेन्ट डेल बोस्की नै उपयुक्त भएको बताए ।
