
पोखरा, १२ असार। पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाइएको छ । महानगरको सम्पन्न तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाएको हो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो ।
एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखे ।
धेरैले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नामा अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको हो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका छन् ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
महानगरको सभाबाट पारित भएसँगै नेपाल सरकारलाई अस सिफारिस पठाईने तयारी भएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ ।
