दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट कार्की पुरस्कृत , विमानस्थल निर्माण कार्य छिट्टै शुरु – सिंह

Share:

पोखरा, २४ साउन। प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार – २०७० बाट शनिवार पोखराका अग्रज पत्रकार नारायण कार्कीलाई पुरस्कृत गरिएको छ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा संचालित सो पुरस्कारको राशी ३३ हजार तीन सय ३३ सहित ताम्रापत्र रहेको छ। महासङ्घले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उनलाई पुरस्कृत गरेका थिए।

४२ वर्षदेखि निरन्तर रुपमा पत्रकारितामा क्रियाशिल कार्की पोखराको समाधान दैनिकका सम्पादक र विविसि नेपाली सेवाका पोखरा सम्वाददाता हुन्। यसअघि पनि अग्रज पत्रकार कार्कीले दर्जनौ पुुरस्कार र सम्मान पाइसकेका छन्।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले पोखरामा नै क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन्। पोखरामा विमानस्थल निर्माणका अवरोध हुन थालेकोभन्ने समाचार वाहिर आइरहेका बेला उनले पोखरेलीहरुलाई ढुक्क हुन आग्रहगर्दै पोखरामा नै विमानस्थल बन्ने बताएका हुन्।

विधि र प्रक्रिया पुरा गर्ने क्रममा केहि बाधा÷अड्चन आएपनि त्यसलाई सुल्झाएर अघि बढ्ने उनको भनाई थियो। उनले चाडोभन्दा चाडो विमानस्थल निर्माण कार्य पनि शुरु हुने जानकारी दिए। उपप्रधानमन्त्री सिंहले निर्धारित समय माघ ८ भित्रमा नै संविधान जारी हुने दावी गरे। पहिलो संविधान सभाले गरेका निर्णयहरुको स्वामित्व ग्रहण गरिएका कारण सजिलो भएको र कार्यतालिका अनुसार नै काम बढेकाले संविधान बन्ने उनको भनाई थियो। उनले सहमतिबाट नै संविधान जारी गर्नका लागि सवै राजनीतिक दलहरु अधिकतम लचिलो हुनुपर्ने बताए। सकभर सहमतिबाट नै संविधान जारी गर्ने हो उनले भने – सहमतिबाट सम्भव नभए प्रक्रियामा गएर भएपनि जारी गर्छाै।

पुरस्कृत व्यत्तित्व नारायण कार्कीले सामाजिक विकृति र विसंगति विरुद्व खरो उत्रने व्यत्तिका नामबाट स्थापित पुरस्कार पाउदाँ खुशी लागेको बताए। उनले पत्रकारहरुले न्युनतम पारिश्रमिकको कुरा छाडेर समग्र हितका लागि एक हुनुपर्ने समय आएको बताए।

प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासङ्घ कास्कीका सल्लाहाकार कृष्णप्रसाद बाँस्तोलाले संचार क्षेत्रलाई माथि उठाउन पत्रकार कार्कीको ठुलो भुमिका रहेको बताए।

सभासद् यज्ञबहादुर थापाले पोखरेलीका लागि संविधान पहिलो र क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल दोस्रो आवश्यकता भएको बताए।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यद्वय रुद्र भट्ट र शुष्मा पौडेलले पत्रकारिताका हरेक क्षण कठिन र चुनौतिपुर्ण रहेको बताए।

पुरस्कार संस्थापक परिवारका तर्फबाट बोल्दै पालिखे परिवारकी बुहारी सुनयना पालिखेले पत्रकारलाई प्रोत्साहित गर्नु नै पुरस्कारको उदेश्य भएको बताईन्।

नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेन्द्र अधिकारीले स्वागत र सचिव त्रिभुवन पौडेलले कार्यक्रम संचालन गरेका थिए।

News N Photo Source: Nabin Sigdel / Adarsha Samaj

कमेन्ट गर्नुहोस्
Share: