रामबजार हत्याकाण्ड:प्रहरीले एकपक्षीय अनुसन्धान गरेको आफन्तको आरोप

Share:

पोखरा,३ साउन । पोखरा महानगरपालिका १० रामबजार कालिकामार्गमा गत जेठ २९ गते राति भएको हत्याकाण्डको आरोपी रामजी घलेका आफन्तले प्रहरीले एकपक्षीय रुपमा अनुसन्धान गरेको आरोप लगाएका छन् । घलेका आफन्तले घले निवासमा विहीबार पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । उनीहरुले घलेकी श्रीमती सुमित्रा ठकुरी घलेकी दिदीकी छोरा बेलबहादुर ठकुरीले घटना गराएको आरोप लगाउँदै यसबारे प्रहरीले किटानी जाहेरी पनि लिन नमानेको गुनासो गरेका छन् ।

यसअघि जेठ २९ गते राती छुरा प्रहार हुँदा छोरा ज्ञापन घलेको मृत्यू भएको थियो भने रामजी घले र उनकी श्रीमती सुमित्रा घले घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । साथै सुमित्राको पेटमा भएको ९ महिने शिशुको पनि गर्भावस्थामै मृत्यू भएको थियो । घटनालगत्तै प्रहरीले रामजी घलेले छोराको हत्या गर्नुका साथै श्रीमतीको हत्या प्रयास गरेर आफूले आत्महत्या प्रयास गरेको जानकारी दिएको थियो ।

तर घलेका आफन्तले घटना रामजीले नभई सुमित्राको दिदीको छोरा बेलबहादुर ठकुरीले गरेको आरोप लगाएका हुन् । उनीहरुले रामजी निर्दोष रहेको जिकिर गर्दै घाइते सुमित्रा, उनकी आमा धनमाया ठकुरी र सुमित्राकी दिदीकी छोरा बेलबहादुर ठकुरीलाई समेत अनुसन्धानमा तानेर घट्नाको निश्पक्ष छानबिन गर्न माग गरे ।

पत्रकार भेटघाटमा बोल्दै आरोपी रामजीका दाजू नारायण घलेले आफ्नो भाई निर्दोष रहेको दाबी गरे । उनले भने,’मेरो भाई निर्दोष छ, कुखुराको चल्लासमेत नमार्ने मेरो भाइले कसरी मार्छ आफ्नै छोरा ? यो हुनै सक्दैन, मेरो भाइले हत्या गरेकै होइन ।’ दाजू नारायणले घटनामा जोडिएका सबैलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरे ।घटनाको अनुसन्धान भइरहेको भन्दै यसबारे थप बोल्न नमिल्ने बताएको छ । आरोपी रामजी अझै कास्की प्रहरीको हिरासतमा छन् भने उनकी श्रीमती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएर आफन्तको घरमा बस्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: