खुल्ला प्रतिष्पर्धामा कुनै व्यवसायमा बारबन्देज मान्य छैनः मन्त्री थापा

Share:

रञ्जन अधिकारी पोखरा, २८ साउन /उद्योगमन्त्री कर्णबहादुर थापाले खुल्ला प्रतिष्पर्धाको यो युगमा कुनै पनि व्यवसायमा बारबन्देज लगाउने कार्य मान्य नहुने बताएका छन् । उनले सीमित व्यवसायलाई सीमित व्यवसायको बनाउन नसकिने भन्दै यस्ता प्रवृत्ति त्याग्न पनि अनुरोध गरे ।

पोखरामा बुधबार पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४४ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि थापाले सिण्डिकेट शब्द उच्चारण नगरी पृथ्वी राजमार्ग बस सञ्चालक समिति यस्तो आरोपबाट माथि रहनुपर्ने बताए । ‘हामी प्रतिष्पर्धाको युगमा छौं । यो युगमा हामीले कुनै बार र बन्देज लगाएर सीमित व्यक्तिको बनाउन सक्दैनौं । तपाईंहरुको भावना यस्तो छ जस्तो लाग्दैन ।’ उनले भने – ‘अहिले देशै भरी बस व्यवसायको क्षेत्रमा एउटा आरोप लाग्ने गरेको छ, कि सीमितले मात्रै व्यवसाय गर्ने र सीमित घेरा र दायराबाट मात्रै चल्ने । यस्तो प्रकारका प्रवृत्ति र चिन्तन हावी भएको छ ।’ समितिलाई सुझाव दिँदै उनले जस्तो आरोप लागिरहेको छ, यस्ता साँघुरो दायराबाट माथि उठेर व्यवहारतः सबै प्रकारका आरोपलाई खण्डित गर्दै अघि बढ्न आग्रह गरे ।

सरकारको नीति नियमलाई प्रभावित गर्न सक्ने, परिवर्तनका निम्ति योगदान दिन सक्ने अनुभवी व्यक्तित्व यातायात क्षेत्रमा भएकाले राष्ट्र निर्माणको अभियानमा एक भएर साथ दिन मन्त्री थापाले व्यवसायीसँग आग्रह पनि गरे । ‘हामी अन्यत्र सिष्टमको प्रशंसा गर्छौं तर त्यसलाई कार्यान्वयन गर्न सक्दैनौं । आफ्नौ आलोचना र विरोध गर्छौं ।’ उनले भने– ‘यसरी मुलुक अघि बढ्दैन । आफ्नो क्षेत्रबाट सेवा सुधार गर्दै अघि बढौं, देश बन्छ ।’

फरक प्रशंगमा उनले जात, धर्म र भूगोलका आधारमा मुलुक बिखण्डन हुन नहुने उल्लेख गरे । ‘देश कुनै जाति, धर्म विशेषको हुँदैन । सबै धर्म संस्कृतिको सम्मान गर्ने धार्मिक सहिष्णुता नेपालमा छ । राष्ट्र एकतामा लागौं ।’ उनले भने ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज) ले चौतर्फी ढंगबाट यातायात व्यवसायीलाई सिण्डिकेट लादेको आरोप लागेकोमा असन्तुष्टि जनाउँदै राज्यको कानुनभित्र रहेर, कर तिरेर, तोकेको रुटमा सवारी सञ्चालन गर्दा कसरी सिण्डिकेट कायम गरेको हुन्छ ? भन्दै प्रश्न गरे । उनले ६०१ जनाले नै म्याद थपी थपी अहिले फेरि पुनः चुनावको नाममा राष्ट्रिय ढिकुटी खान सिण्डिकेट लादेको आरोप लगाए ।

यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख देवीराम भण्डारीले नेपालदेखि बाहिर भारतसम्मै सिधै यातायात सञ्चालन गरिरहेको समितिले सेवामा स्तरीयता कायम गर्दै यात्रुमैत्री वातावरण बनाउन सुझाव दिए ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष रुद्र गौतमले नेपालमा भारतीय गाडीहरु निर्वाध रुपमा सञ्चालन गर्न दिएर कसरी स्वस्थ प्रतिष्पर्धा गर्न सकिन्छ ? भन्दै प्रश्न गरे ।

सुदुर पश्चिम यातायात व्यवसायी समितिका टेकराज जोशी, गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसायी समन्वय समिति संयोजक बसन्त प्रधान, ट्रेड यूनियन काँग्रेसका मुरारी शर्मा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका विष्णुबहादुर खत्री, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोईराला, नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर गुरुङ, नेकपा एमालेका राजीव पहारी, एमाओवादीका दीपक कोईराला र नेकपा–माओवादी जिल्ला सचिवालय सदस्य अर्जुन छन्त्यालले बोलेका थिए । अधिकांश वक्ताले समितिले स्वरोजगार व्यवसायी, चालक र सहचालकको मृत्यु भएमा दिईने क्षतिपूर्ति रकममा विभेद गरेको भन्दै आपत्ति जनाए ।

समितिका अध्यक्ष ऐन कुमार साईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव योगेन्द्र बहादुर केसीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जसबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच, समितिको ४४ औं साधारणसभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ऐन कुमार साईलाई नै अध्यक्षमा निरन्तरता दिँदै प्रमुख तीन पदमा पुरानै व्यक्ति दोहोरिने सम्भावना बलियो देखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा विज्ञान श्रेष्ठ सर्वसम्मत हुने निश्चित प्रायः छ भने हालका सचिव योगेन्द्र बहादुर केसी महासचिव बन्ने कसरतमा छन् । अहिले बन्द सत्र जारी रहेको र विहिबार नयाँ कार्यसमिति चयन हुने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: