
पोखरा, ४ भदौ । पोखराको व्यापारिक क्षेत्र न्युरोड स्थित दुई पसलमा मध्यरात आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।
पदमबहादुर गुरुङको घरको सटरमा नविन श्रेष्ठले सञ्चालन गरेको सोलार पसलमा आगलागी भएका हो । नव सनस्टार ट्रेडर्स सोलार पसलको सामान जलेर अन्दाजी १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
आडैको चन्द्र बहादुर गुरुङको घरको सटरमा कोपिला नेपालीले सञ्चालन गरेको किराना पसलमा समेत आगलागीले क्षति पु¥याएको छ । किराना पसलमा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको राति २ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा ३ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन ।



तस्बिरः प्रकाश घिमिरे
