
विशन क्षेत्री, २० भदौ,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाले अधिकार नै नमागेको बताएका छन् । प्रदेशमा मन्त्रिपरिषदको गठन हुँदा पनि महिलाले अधिकारको कुरा नउठाएको गुरुङको भनाई छ ।प्रदेशसभा सचिवालयले गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको तीज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गुरुङले भने, ‘मन्त्रिपरिषद विस्तार गर्दा एकजना पनि महिला म मन्त्री हुन्छु भन्दै आउनुभएन, मैले मन्त्री बनाउला नबनाउला तर महिला सांसदहरुले दबाब नै दिनुभएन ।’
यस्तै, नेकपाको केन्द्रिय सदस्य विस्तार गर्नेबेलामा पनि महिलाहरुले आवाज नउठाएको उनले बताए । ‘पार्टी एकता हुनेबेलामा हामीले केन्द्रिय कमिटिमा महिलालाई कम्तीमा ३३ प्रतिशत चाहिन्छ भनेर भन्यौँ, तर मिल्न लागेको बेलामा निहुँ नखोजौ महाधिवेशनमा बनाऔँला भनेर टारे, तर महिलाहरुले नै आफ्नो अधिकार माग्न सकेनन्, अखिल नेपाल महिला संघले कुरा पनि उठाएन ।’ उनले भने, ‘पुरुषवादी मानसिकताका कारण राज्यले अझै पनि महिलालाई अधिकार दिन खोज्दैन ।’
कानुनमा बल्लतल्ल केही अधिकार दिईएतापनि व्यवहार भने पुरुषप्रधान नै देखिएको उनले बताए । यसविरुद्ध महिलाहरुले आफ्नो अधिकार लडेरै लिनुपर्ने उनले सुझाव दिए । ‘पहिले राजाको विरुद्ध अधिकारको निम्ती लड्यौँ, अब महिलाले पुरुषविरुद्ध अधिकारकै लागि लड्नुपर्छ ।’ गुरुङले भने ।यस्तै मुख्यमन्त्री गुरुङले प्रदेशको अधिकारको लागि संघसँग लडिरहेको बताए ।
‘मुख्यमन्त्री भएपछि सबै आफ्नै मातहतका मान्छे हुन्छन् र केके न गरौँला भन्ने थियो, तर काम गर्न कर्मचारी र प्रहरी चाहिने रहेछ, त्यो अधिकार केन्द्र आफैले लडेको छ, सोचेजस्तो काम गर्न सकिएको छैन्, प्रदेशको अधिकारको लागि हामी संघसँग लडिरहेका छौँ’ गुरुङले थपे, ‘प्रदेशको अधिकारको विषयमा २४ गते प्रधानमन्त्री समक्ष कुरा राख्नेछौँ ।’ भदौ २४ गते अन्तरपरिषद समन्वय परिषदको बैठकमा कुरा उठान गर्ने उनले बताए ।
FILE PHOTO
