नागरिकको सुझावकै आधारमा हातेमालो गर्दै अघि बढ्छौंः एसपी लामा

Share:

रञ्जन अधिकारी पोखरा, ३० साउन  / आम नागरिकबाट शान्ति सुरक्षा तथा प्रहरीबाट भईरहेका कामकारबाही बारे जानकारी एवं सुझाब लिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार नागरिक सुनुवाई कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा गुण्डागर्दी, लागु औषध, ट्राफिक व्यवस्थापन, यौन व्यवसाय बिरुद्धमा सक्रियताका साथ लाग्न नागरिक तहबाट प्रहरीलाई सुझाव दिईएको छ । सहभागीहरुले प्रहरीले सदैव पीडितका पक्षमा काम गर्नुपर्ने, यातायात क्षेत्रमा देखिएका समस्या, तालतलैया संरक्षणका लागि गर्नुपर्ने पहल, दुर्घटना न्युनिकरणमा खेल्नुपर्ने भूमिकाका बारेमा पनि सचेत गराएका थिए ।

प्रहरीले हरेक ३ महिनामा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गर्ने गरेको छ । उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा जनतासँग प्रहरी नाराका साथ यस्तो कार्यक्रम हुन थालेको हो । गत फागुन २३ गतेपछि पाँच महिनामा कास्की प्रहरीले शुक्रबार आयोजना गरेको यो कार्यक्रममा पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रहरीसमक्ष उनीहरुको कामकारबाहीको गुनासो गरे । यद्यपी, अधिकांश सरोकारवाला निकायका प्रतिनिधिको भने उपस्थिति रहेन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी केदार रजौरेले गत फागुन २३ गते बाट हाल सम्म भएका अपराधिक कृयाकलाप, मुद्धा तथा ब्यबस्थापनको बारेमा जानकारी गराएका थिए । उक्त समय देखि हाल सम्म छ सय २३ जनालाई मापसे कारबाही गरिएको छ । पोखराको गुण्डागर्दी पनि नियन्त्रणमा आएको रजौरेले दाबी गरे । गुण्डागर्दीमा संलग्न रहेका ३३ जना लाई कारबाही गरिएको, विभिन्न २६ प्रकारको मुद्धा मध्ये सार्बजनिक मुद्धामा करीब पाँच हजारलाई कारबाही गरिएको र यो अवधिमा ६८ लाख राजस्व संकलन गर्न सफल भएको पनि जानकारी दिईयो ।

कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पोखरा बजारभित्र ट्राफिक व्यवस्थापन अव्यवस्थित भएकोले सुर्धानुपर्ने आवश्यकता औंल्याए । उनले मानवअधिकार हनन्का घटनाहरु बढ्दै गएकोले संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका महासचिव विमलबहादुर कार्कीले केहि प्रहरीले घुस लिन गरेको पाईएकोमा ध्यानाकर्षण गराए । कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले आत्महत्याको घट्ना बढ्दै गएकाले मानसिक स्वास्थ्य सचेतना फैलाउनुपर्ने बताईन् ।

पत्रकार महेश कुमार खातीले बाग्लुङ बसपार्कबाट यौन व्यवसायी विस्थापित गरिएपनि झनै व्यवस्थित र महंगो रेटमा यो व्यवसाय फैलिएको जानकारी गराए । पत्रकार माधव पनेरुले ट्राफिक सिग्नलहरु रातारात व्यवसायीले नै हटाउने गरेको भन्दै प्रहरीलाई सचेत गराए भने पत्रकार यदु बञ्जराले एक सय ५० रुपैंया तिर्नुपर्ने भन्दै पर्यटन बसहरु बसपार्क नै नछिरी यत्रतत्र ट्राफिक जाम बनाउने गरी पार्किङ गराउने गरेकाले ध्यान दिन आग्रह गरे । उनले साउण्ड प्रुफका नाममा रातभर लेकसाईडका होटल खुल्न पाउने गरी भएको अदालती फैसलाले सुरक्षा चुनौति थपिएको बताए । लागू औषध नियन्त्रण समन्वय समिति पोखरा ९ की दीलमाया गुरुङले लागु औषधी बिरुद्ध प्रहरीले अझै बढि सक्रियता देखाउनुपर्ने भन्दै सेती नदि वरिपरि तथा अन्य क्षेत्रमा लागु औषधका प्रयोगकर्ताको जमघट हुने भएकाले सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई अनुरोध गरिन् ।

रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले प्रहरीको अनुसन्धानलाई समेत प्रभावित हुने गरी हुने गरेका गतिविधिप्रति सचेत रहन आग्रह गरे । पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष रिजन शेरचन, पोखरा बस व्यवसायी समिति अध्यक्ष रमेश गिरी लगायतले ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।

राष्ट्रिय महिला अधिकार मञ्च कास्कीकी राधा गौतम,स्थानीय राजेन्द्रप्रसाद सुवेदी, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति प्रथम उपाध्यक्ष बिष्णुबहादुर भट्टराई, चिरञ्जीवी श्रेष्ठ लगायतले शान्ति सुरक्षा बारेमा प्रश्न तथा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्तकुमार लामाले जिल्लामा शान्ति सुरक्षा सुदृढ पार्न आफुहरु लागिपर्ने बताए । उनले नागरिकका प्रश्न, जिज्ञाशा र सुझाब लिएर आगामि दिनमा सुधार्दै जाने प्रतिबद्धता जनाए । लामाले अपराध नियन्त्रण सहित विकास निर्माणमा पनि प्रहरी सक्रियताका साथ लाग्ने बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: