
पोखरा, १२ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीको अध्यक्षमा भुवन क्षेत्री निर्विरोध चुनिएका छन् । पोखरामा शुक्रबार भएको संघको सातौ साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्ष क्षेत्रीसँगै सचिव रुद्रप्रसाद अर्याल निर्विरोध चयन भए । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन भयो । उपाध्यक्षमा सन्दिप अर्याल र कोषाध्यक्षमा प्रकाश गैह्रै विजयी भए । अर्यालले प्रतिष्पर्धी महेश पौडेललाई ८ मतान्तरले हराए । अर्यालको पक्षमा २१ र पौडेललाई १३ जनाले मत दिए ।
यस्तै, कोषाध्यक्षमा गैह्रै १० मतान्तरले विजयी भए । प्रतिष्पर्धी पूर्ण न्यौपानेले १२ मत ल्याउँदा गैह्रेको नाममा २२ मत खसेको थियो । चार सदस्यहरुमा ६ जना चुनावमा होमिएकोमा हरि पराजुली, नशिव क्षेत्री, गणेश कोइराला र देवराज शर्मा विजयी भए । बालचन्द्र परियार र युवराज पौडेल पराजित भए ।
यसअघि, साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि इक्यान केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डेले नेपालको कन्सल्टेन्सी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) कुनै हालतमा भित्रन नदिने बताए । उनले कन्सल्टेन्सीमा डिपोजित राख्ने पक्षमा आफूहरु नरहेको भन्दै शिक्षा मन्त्रालयमा स्वीकृत नभएका कन्सल्टेन्सी बन्द गराउन इक्यानले सहयोग गर्ने बताए ।
संघ, कास्कीका अध्यक्ष अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव भुवन क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले आर्थिक प्रतिवेदन पेश गरे ।
संघको कार्यकाल २ वर्षको रहनेछ । काठमाण्डौं केन्द्र रहेको इक्यानको कास्की, चितवन, ललितपुर, पूर्वाञ्चल (जनकपुरदेखि बिराटनगर), रुपन्देहीमा शाखा विस्तार छ । इक्यान कास्कीको पहिलो दुई कार्यकाल लगातार महेश भण्डारीले नेतृत्व गरेका थिए । उनी संस्थापक अध्यक्ष हुन् । तेस्रो कार्यकाल मिलन तिवारीले सफलतापूर्वक पूरा गरे ।


