
पोखरा, १३ असोज । बिग आइकनको सातौं संस्करणको टाइटल जितेपछि बेलायतमा सांगीतिक भ्रमणको अवसर मिलेको सुवास गुरुङका लागि आफ्नो भ्रमण अविष्मरणीय र गज्जब बन्यो । त्यहाँ उनले आफ्नो नेपाली समुदायबीच सांगीतिक प्रस्तुति राखे । सयौंको साथ मिल्यो । राजदुतसँग भेटघाटको अवसर सहित खेलकुद सम्बद्ध व्यक्तित्वबीच रहने मौका पाए ।
उनले आफ्ना हर कार्यक्रममा भन्ने गर्थे – ‘यी सब मौका बिग आइकन भएकैले पाएँ । बिग आइकन गर्ने बिग एफएमप्रति आभार प्रकट गर्दछु । यति मिठो र न्यानो माया, आतिथ्यताका लागि यहाँका सबै सबैलाई धन्यवाद छ । नेपाल फर्केर नेपाली सँगीतमै मेहनत गरिरहनेछु ।’
नेपाल फर्कनुअघि लगातार प्रस्तुति दिन उनी ब्यस्त बने । शुक्रबार लण्डनको प्लमस्टीडमा रहेको डाँफे रेष्टुरेण्टमा अत्यन्त भव्य कार्यक्रमका बीच प्रस्तुति राखेका उनले शनिबार साउथ हारो स्थित माया पबमा माया नै माया पाए । किनकि उनको अघिल्लो साताको प्रस्तुतिपछि आयोजकले पुनः आमन्त्रण गरेका थिए ।
सञ्चालक श्री सिद्धार्थ विक्रम क्षेत्रीको साथ सहयोग अत्यन्त प्रशंसनीय रहेको बिग आइकन आयोजक संस्था बिगएफएमका अध्यक्ष महेश भण्डारीले जनाए । क्षेत्री राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष समेत हुन् । उनले सुवासले बिग आइकन टाइटल डिजर्व गरेकोमा प्रंशंसा गर्दै उनको आवाज, मेहनतदेखि क्यारेक्टरसम्मबाट आफू निकै प्रभावित भएको बताए । साथै क्षेत्रीले बिग एफएमले यति ठूलो कार्यक्रम गरेर प्रतिभाहरु जन्माएकोमा प्रशंसा गरे । ‘बिग आइकन सुवास भविष्यको स्टार हो । ऊ फेरि यूके आउँछ ।’ क्षेत्रीले भने– ‘सुवास अर्को नितेशजंग कुँवर हुन् ।’
शनिबार माया पबमा भएको कार्यक्रमकै अवसरमा बिग आइकन सुवास गुरुङलाई कान्ति गुरुङ श्रेष्ठ र अनुप श्रेष्ठको जोडीले उपहार सहितको सम्मान प्रदान गरे । यो जोडी पोखरामा कुनैबेला रेडियो कर्ममा थिए । अहिले यूकेमा रहेपनि यस क्षेत्रमा आफूले सक्दो साथ उत्तिकै छ ।
पुन मगर समाज यूकेको सम्मान
पुन मगर समाज यूकेले बिग आइकन सुवास गुरुङलाई सम्मान गरेको छ । पुन मगर समाज यूकेले बिग आइकन प्रतियोगितालाई निकट हिसाबले हेर्ने गर्छ । नेपालमै सबैभन्दा लामो गायन रियालिटी शो बिग आइकनको पहिलो संस्करण नै गगन पुनले जितेका थिए ।
समाजका अध्यक्ष तेज पुन मगर, पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारको बाक्लो उपस्थिति रहेको थियो ।
बिग आइकन सोमबार बिहान काठमाण्डौं आइपुग्दैछन् । बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को आमन्त्रण तथा काठमाण्डौ थापाथलीस्थित द ब्रिटिश कलेजको व्यवस्थापनमा अहिले बिग आइकन गुरुङ अध्यक्ष भण्डारी सहित बेलायत भ्रमणमा पुगेका हुन् । द ब्रिटिश कलेज ‘सपोर्टेट बाइ’ टाइटलमा बिग आइकनमा निरन्तर चारवर्षदेखि जोडिएको छ ।
‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनि संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आले यो ‘ट्रिप’ अन्तर्गत बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् ।







