
मासु
हुनत मासु जो कोहिको भान्छामा जुनसुकै अवस्थामा पनि तरकारीको रुपमा पाक्ने गरेकै हो । तर अरु बेलाको भन्दा दसैमा खाने मासुको छुट्टै मज्जा हुने गरेको धेरैको भनाई छ । त्यसैले पनि दसैमा मासुको महत्व बेग्लै छ । दशैं र मासुको सम्बन्ध गहिरो छ ।
शाकाहारी बाहेक सबैले दशैंका बेला सदाभन्दा धेरै मासु घर भित्र्याउँने गर्छन् । फूलपातीको दिनदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरु बन्छन् । केहीले घरमै मासुका लागि पशु काट्छन् भने अधिकतमले मासु खरिद गर्ने गर्छन् ।
बजारदेखि उपभोक्ताको घरसम्ममा आइपुग्दा
बजारदेखि उपभोक्ताको घरसम्ममा आइपुग्दा स्वास्थ्यका दृष्टिकोणले मासु कतिको उपयुक्त भएको हुन्छ कसैलाई हेक्का हुदैन । अझ कतिपय मानिस त कुहिन लागेर अलिअलि गनाएको मासु नखाउञ्जेल त दशैं नै आएको जस्तो नलाग्ने पनि सुनाउँछन् ।मासु खानेका लागि दशैमा मासु साँच्चै नै ठुलो महत्वको हुन्छ ।
उत्सव र चाडपर्वका बेलामा खुसी साट्नका लागि र मनोरञ्जनका लागि प्रयोग गरिने मासु मानव स्वास्थ्यका लागि कतिसम्म खतरनाक हुन सक्छ, त्यो थोरैले मात्र महसुस गरेका छन् । धेरैजसोले मासु कहाँ र कस्तो ठाउँमा काटिन्छ भन्ने वास्तै नगरि मासु खरिद गर्ने गरेको पाइन्छ । अझसम्म पनि विभिन्न हाटबजारमा साथै गाउँघरमा राँगा, खसी, सुँगुर र कुखुराका मासु साइकल र गाडामा हालेर नछोपिकनै बाटोभरी रगत चुहाउँदै लैजाने गरेको दृष्य पनि देखिन्छ ।त्यस्तै चौबाटोमा केहिले पनि नछोपी झिंगा भन्काएरै मासु बेच्ने पसलहरु पनि अनगिन्ती छन् ।
चिकित्सकहरु के भन्छन ?
दशैंको मासु राम्रोसँग पकाएर मात्रै खान चिकित्सकहरुले सुझाव दिएका छन्। राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई हानी गर्ने उनीहरुको भनाइ छ। मासु खानुअघि खसी, भेडा स्वस्थ भए नभएको एकिन गर्न पनि चिकित्सकहरुको सुझाव छ। दशैंको समयमा मासु प्रयोग अधिक हुने भएकाले यसको सेवनमा ध्यान दिन डाक्टरहरले सुझाव दिएका छन्।
मासु कति खाने ?
मासु धेरै खाएमा पेट गडबडी हुने, दुख्ने, श्वास–प्रश्वासमा कठिनाइ हुने, बेचैनी आदिजस्ता शारीरिक अस्वस्थताका लक्षण देखा पर्न सक्ने डाक्टरहरको भनाई छ । दशैं–तिहार जस्ता चाडपर्व रक्सी पिउनेहरूका लागि राम्रो बहाना बन्ने गरेका छन्। रक्सीले पार्ने नराम्रो असर त छँदैछ, दशैंमा खाइने चिल्लो, तारेको, पोलेको, भुटेको परिकार, नुनिलो जङ्क फूड र बट्टामा राखिएका खानेकुराले हाम्रो शरीरलाई थप नराम्रो असर पार्छन्।अत्यधिक बोसो तथा चिल्लोयुक्त पदार्थ सेवन गर्ने र व्यायाम पनि नगर्नेको रगतमा कोलेस्टरल (बोसो) को मात्रा बढ्छ। रक्तवाहिनी नलीमा अतिरिक्त कोलेस्टरल जम्मा हुँदा रगत बग्ने बाटो अवरुद्ध हुन जान्छ। मुटुमा रगत पुर्याउने नली थुनिंदा हृदयघात हुन्छ भने मस्तिष्कमा रगत लैजाने नली अवरुद्ध हुँदा मस्तिष्कघात हुन्छ।
मदिरा
यस्तै अधिक मदिरा सेवनले शारीरिक सन्तुलन गुम्ने, नजिक टाढाको अनुमान लगाउन र कुनै चिज ठम्याउन गाह्रो हुने, बेहोश हुने तथा मृत्यु समेत हुन सक्छ। सर्वसाधारण मात्रै नभएर कतिपय चिकित्सकमा पनि रक्सी सेवनले एचडीएल नामक कोलेस्टरल बढाउने र घटाउने भएकाले मुटुलाई बचाउँछ भन्ने गलत धारणा छ। यथार्थमा रक्सी सेवनले कलेजो लगायत शरीरका अन्य अङ्गलाई हानि पुर्याउँछ।
रक्सीले शरीरको बाह्य भागको रक्तनलीलाई फुलाउने हुनाले शुरूमा ब्लडप्रेसर घटाउँछ तथा शारीरिक ताप नष्ट गराउँछ। त्यसैले विशेषतः जाडो मौसममा रक्सी सेवन अरू खतरनाक हुन्छ। मुटुको चाल घटबढ हुने, पाचन नलीमा सुजन, ग्यास्ट्राइटिस, अल्सर हुनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर पनि हुन सक्छ। अल्कोहल भएमा मानिस गहिरो निद्रामा पर्ने तथा मृत्युसमेत हुन सक्छ।
मासु सेवनले कति फाईदा गर्छ र कति बेफाईदा गर्छ ?
वास्तवमै मानिसका लागि मासु सेवनले कति फाईदा गर्छ र कति बेफाईदा गर्छ यो बहसकै विषय हो । तर विश्व जनसंख्याको ९० प्रतिसत मानिसको रुची मासुमा हुनु, विकसित देशका नागरीकहरुको आहारामा ३० प्रतिसत हिस्सा मासुले आगट्नु र मासुसँगै जोडिएको पशु तथा पंक्षि पालन, पुशपंक्षिका लागी आहाराका व्यवसाय, पशुपंक्षिको औषधि उपचार तथा मासुको कारोबारले ओगट्ने अर्थतन्त्रको ठूलो हिस्साले मासु खानु र नखानुले विशेष महत्व राख्छ । अरुले खाईदिएको मासुले कति मानिसको गुजारा चलिरहेको हुन्छ रु मासु नखादा पशुपंक्षि पालन केका लागि गर्ने भन्ने सामान्य तर गम्भीर विश्लेषण गर्न हामी चुक्नु हुदैन ।
आठ पक्षहरु प्रत्यक्ष संलग्न
सामान्यतया एउटा खसी वा एउटा कुखुरा उपभोगका लागि तयार हुने समयसम्म पशुपंक्षि पालक किसान, पशुपंक्षिको औषधि उपचार गर्ने चिकित्सक, औषधि उद्योग र पसल, पशुपंक्षिको आहारा उत्पादन गर्ने उद्योग, आहारा बिक्रि गर्ने व्यवसायी, पशुपंक्षिको कारोबार गर्ने बिचौलिया र मासुको बिक्रि गर्ने व्यवसायी गरी आठ पक्षहरु प्रत्यक्ष संलग्न हुन्छन् । मासु पकाएर बेच्ने होटल, सेकुवा कर्नर लगायतका अन्य पक्षहरुको पनि संलग्नता केलाउदा मासुको उपभोगले धेरैको गुजारा चलेको देखाउछ ।
मासुको उपभोगले निर्माण गरेको आर्थिक चक्रले एउटा पशुपंक्षिबाट प्रत्यक्ष र अप्रत्यक्ष सामान्यता १० जनाको गुजारा धानेको प्रष्ट हुन्छ । मासुको उपभोग स्वास्थको दृष्टिकोणले पनि फाईदाजनक छ । विशेष तागतिलो र पोसिलो खानेकुराका रुपमा मासुलाई लिने गरीन्छ । गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रमुख आवश्यक परिकारका रुपमा चिकित्सकहरुले खान सल्लाह दिने वस्तु पनि मासु हो । तर उपभोग गरीने मासु स्वास्थ छ वा छैन त्यो भने विचार पु¥याउनुपर्छ ।
अस्वस्थकर तथा विषाक्त मासुको बध गर्दा, छाला काड्दा, ड्रेसिङ गर्दा र परिकार बनाउँदा मानिसमा थुप्रै रोग सर्ने र महामारीसम्मका फैल्याउन सक्ने अवस्था सिर्जना हुन सक्छ । यसअर्थमा मासु किनबेच र उपभोग गर्दा आम उपभोक्ता तथा व्यवसायी सचेत र जिम्मेवार हुनुपर्ने देखिन्छ । खसी बोकाको मासुमा पाइने कतिपय कीटाणुहरुलाई फ्रिज नगरी मार्न सकिंदैन । छाला भएको र फ्रीजमा नराखेको मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्तै चेकजाँच नगरिएको, ओसारपसारमा होसियारी नअपनाइएको, फोहोर भएको ठाउमा प्रदूषित हतियारद्वारा बध गरिएको, अन्य वस्तु मिसाएर बेचेको र रोगी पशुपंक्षीको मासु अस्वस्थकर मानिन्छ ।
विश्व ब्यापार सङ्गठनको मापदण्ड
त्ययसै सन्दर्भमा उपभोक्तालाई स्वच्छ तथा रोगमुक्त मासु उपलब्ध गराउने र विश्व ब्यापार सङ्गठनको मापदण्ड पूरा गर्ने अभिप्रायले तयार गरिएको ‘पशु वधशाला र मासु जाँच ऐन–२०५५’ अनुसार तोकेको स्थानमा मात्र बध गर्नुपर्ने, पशु वध गर्नुअघि जाँच्नुपर्ने, मासु निरीक्षकबाट जँचाएर मात्र बिक्रि गर्न पाइने, कुनै वस्तुसँग मिसाएर मासु बिक्रि गर्न नपाइने, छाला भएको मासु बिक्रि गर्न नपाइने, अनुमतिपत्र लिएर मात्र व्यवसाय गर्न पाइने जस्ता नीतिगत व्यवस्था छ । तर कार्यान्वयनमा आउन सकेको छैन । सरकारी तबरबाट नीति निर्माण भएपनि कार्यान्वयन नहुदा मासु व्यवसायीहरुले चेकजाँच नगरेको मासु बेचबिखन गरिराखेका र उपभोक्ताहरुले पनि उपभोग गरिरहेका छन् ।
स्वास्थ मासुको उपभोगबाट कुनै बेफाईदा नभए पनि मापदण्ड पुरा नगरी कारोबार भईरहेका मासु स्वास्थ नहुदा त्यसको उपभोगले बेफाईदा मात्र बढी हुन्छ भन्ने मात्र भ्रम बढेको छ । त्यसैले अस्वस्थ मासुबाट सर्ने रोगहरुको रोकथाम र उपभोक्तालाई संक्रमणबाट बचाउनका लागि सफा मासु उपलब्ध गर्नका निमित्त कानुनको बारेमा आम जनतालाई सूचित गर्न, ऐन कार्यान्वयनको तहमा लैजाने जिम्मेवारीबाट सार्वजनिक प्रशासन तथा संयन्त्रलाई झक्झक्याउनका लागि आम सचेत नागरिक तथा सञ्चार माध्यमले पनि गहन भूमिका खेल्न सक्नुपर्छ । आर्थिक विकासको प्रमुख आधार बन्दै गएको मासुको उपभोग बढाउनु सबैका लागी फाईदा जनक नै छ तर मासु स्वास्थ हुनुपर्ने कुरालाई भने बिर्षन हुदैन ।
होसियार
अष्टमीका दिनदेखि सबैको घरमा बिशेषगरी मासु पाक्छन् । मांशाहारीको घरमा दशैको लागि मासु नभइ हुन्न । मासु कति खाने कस्तो खाने भन्ने बिषयमा बेलैमा ध्यान नपुर्याए यसले ठुलो नोक्सानी समेत गर्छ । झन उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरुले मासु खादा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ ।
साधारणतया मासु प्रोटिनको राम्रो स्रोत भएतापनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुनसक्छ । रातो मासु अर्थात खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ ।मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याटी एसिडले बढी खराब गर्छ ।
चिल्लोमा विशेष ध्यान
किनकि शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि मात्र खराब चिल्लो बन्छ । त्यसैले मासु खादा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरुमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । दशैमा मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ ।
विभिन्न अंगका मासु
यसैगरी विभिन्न अंगका मासु जस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ । सकभर यी नखादा नै राम्रो हुन्छ । सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । यसैगरी छालासहित कुखुराको खुट्टा, पखेटा, साप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ ।
पकाउँदा ध्यानदिउ
कम मात्र चिल्लो प्रयोग गरी पकाउदा र छाला निकाल्दा तृप्त फ्याटी एसिड कम हुन्छ । ग्रिल, बेकगरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । किनकि छालाले मासु नरम राख्नुका साथै तृप्त फ्याटी एसिड पनि हट्ने हुन्छ । यस्तै कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेस, हटडग पनि स्वस्थकर हुँदैनन् । स्वस्थकर र सफा वातावरणमा उत्पादन भएको चराचुरुङ्गीको मासु उपभोग गर्न सकेमा अस्वस्थकर मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।
