यू-१६ प्रिमियर क्रिकेट: उपाधि जितेर इतिहास रच्यो नेपालले, मलेसियासँग लियो बदला

Share:

काठमाडौं , ४ भदौ । नेपालले एसीसी यू(१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई १ विकेटले हराएर मलेसियाले उपाधि उचालेको थियो ।

यू-१६ च्याम्पियन बनेसागै नेपालले एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता जितेको छ । यू(१७ एक पटक, यू(१९ चार पटक जितेको नेपाल यू(१६ मा भने दुई पटक फाइनलमा पराजित भएको थियो ।एकपछि अर्को उपाधि चुमेको नेपाल पछिल्लो समय भने उमेर समूहमा कमजोर देखिएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू(१७ जितेयता नेपाली उमेर समूहमा उपाधिविहीन थियो ।

बुधबार किनरारा ओभरमा नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६।२ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दिए । आठौं नम्बरमा व्याटिङमा आएका उनले २६ बलको सामाना गरेर चार चौका र दुई छक्का समेत हानेका थिए । यस्तै रवि चन्दले ३४ र शाशिफ शेखले २० रन जोडे ।

नेपालका पवन म्यान अफ दि म्याच घोेषित भए । प्रतियोगिताका उत्कृष्ट बलर नेपालका जितेन्द्र सिंह र उदियमान खेलाडी खनिल खरेल चुनिए । एसियाको टेष्ट नखेल्ने ६ देशबीच राउन्ड रोविन आधारमा प्रतियोगिता खेलाइएको थियो । नेपालले आफूले खेलेका सबै खेल जितेर उपाधि कब्जा जमाएको हो । यसअघि चार खेलमा नेपालले पहिलो खेलमा थाईल्याण्डलाई १० विकेट, सिंगापुरलाई ४९ रन, ओमानलाई १०२ रन, बहराइनलाई १८६ रनले पराजित गरेको थियो ।

यू(१६ विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा

नेपाल क्रिकेट संघ क्यानले एसीसी यू(१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजार दिने घोषणा गरेको छ ।

खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली भोलि बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।

 

कमेन्ट गर्नुहोस्
Share: