
रेम बिक पोखरा, ४ भदौ । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको ग्राण्ड फिनाले आगामी ७ गते पोखरा सभागृहमा हुदैछ । यसैवीच विग आईकनको ग्राण्ड फिनालेमा विक्रि भएको सम्पूर्ण टिकटबाट उठ्ने रकम ग्रामिण भेगका विपन्न बालबालिकाको शिक्षामा खर्च हुने भएको छ ।
विपन्न तथा पिछडिएका बालबालिकाको शैक्षिक उन्नतीका लागि काम गर्दै आएको संस्था ‘अर्पण नेपाल’को माध्यमबाट विग एफएमले टिकटको रकम उनीहरुको लागि खर्च गर्ने भएको हो ।
‘ईभेन्टमार्फत सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि हाम्रो योगदान रहोस् भन्ने हेतुले हामीले यो निर्णय गरेका हौँ ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘ग्राण्ड फिनालेमा विक्रि हुने टिकटबाट हामीले कत्ति पनि आफ्नो भागमा राख्नेछैनौँ ।’ यसअगाडि पनि विग आईकनको ग्राण्ड फिनालेको टिकटबाट उठेको रकम विग एफएमले बालबालिकाकै क्षेत्रमा खर्चदैँ आएको थियो ।
यसअघिका दुईवटा सँस्करणका विग आईकनको ग्राण्ड फिनालेको टिकटबाट उठेको रकम एफएमले उद्योग वाणिज्य संघको बालश्रम न्यूनिकरण कार्यक्रमलाई दिएको थियो । टिकटमार्फत ग्राण्ड फिनाले हेर्ने व्यवस्था भएसंगै पहिलोपटक एफएमले टिकटबाट उठेको सम्पूर्ण रकम ४२ हजार र दोस्रोपटक ४८ हजार रुपैँया सो कार्यक्रमलाई दिएको थियो । तत्कालिन समयमा ग्राण्ड फिनालेमा स्रोता÷दर्शकहरुका लागि २० रुपैँया टिकट दर राखिएको थियो ।
‘यो पटक भने टिकटको मूल्य केहि बढाएका छौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘विपन्न विद्यार्थीहरुलाई सहयोग हुन्छ भनेर हामीले टिकट दर बढाएका हौँ ।’ यो पटक एफएमले प्रतिव्यक्ति टिकटदर ५० रुपैँया पु¥याएको छ । टिकटबाट उठेको सम्पूर्ण रकम अर्पण नेपालमार्फत विपन्न, दलित तथा जनजाति विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतीका लागि खर्च हुनेछ ।
‘विग एफएमले बालबालिकाको शैक्षिक स्तरोन्नतीका लागि दिएको सहयोग हाम्रो लागि निकै ठुलो सहयोग हुनेछ ।’ अर्पण नेपालका अध्यक्ष सुरेश दाहालले भने–‘यसबाट अन्य ईभेन्ट अर्गनाईजरहरुले पनि सिक्न जरुरी छ ।’ अर्पण नेपालले कास्कीका ग्रामिण भेगमा अवस्थित सरकारी विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित र जनजाति विद्यार्थीहरुको शिक्षामा विशेष ध्यान दिँदै आएको उनले बताए ।
चार वर्षअघि खुलेको यो संस्थाले हाल कास्कीका ग्रामिण भेगका पाँचवटा विद्यालयमा आफ्नो कार्यक्रम संचालन गरिरहेको छ । हालसम्म यो कार्यक्रमबाट १ सय १० जना विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भैसकेका छन् । संस्थाले विद्यार्थीहरुका लागि स्कुलमै पुगेर शैक्षिक सामाग्रीहरु हस्तान्तरण, स्वास्थ्य परिक्षण, स्वयंसेवक शिक्षकहरु उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रमलाई देशका अन्य भेगमा पनि विस्तार गर्ने संस्थाको योजना छ ।
