
२६ कात्तिक पोखरा,अनुप पौडेल । गएको शुक्रबार पोखराको विन्ध्यवासिनीदेखि जिरो किमी सडकखण्ड अन्तर्गत बाग्लुङ बसपार्कमा डरलाग्दो दुर्घटना भयो । दुर्घटनामा परि ४ जना घाईते भए । घाईते भएका मध्य दुई जनाको अवस्था गम्भीर भएपछी दुवैलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरियो । गम्भीर घाईते भएका दुईजना दाजुभाइ थिए । ठक्करबाट गम्भीर घाईते भएका दाजुभाइको यकिन परिचय भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार सुरुमा दाईको नाम नविन कार्की र भाइको नाम मदन कार्की भनिएपनि दाईको नागरिकतामा नाम नै बेग्लै रहेको प्रहरीले जनाएको छ । नविन भनिएकाको नाम हरि दमाई उल्लेख गरिएको र भाइको वास्तविक नाम भने पत्ता लागेको छैन ।
ओखलढुंगा लिखु ३ नरबदेश्वर स्थायी घर भई बिगत ४/५ वर्ष देखी पोखरा बस्दै आएका २७ बर्षका नवीन कार्कीलाई भेन्टिलेटरमा राखियो र उनका भाइलाई भेन्टिलेटर बाहिर राखेर उपचार गरियो । तर दुर्घटना पश्चात घाईते दुवैजना दाजुभाइ सोमबार मध्यान्नसम्म पनि बेहोस अवस्थामा नै छन् । उनीहरुको वास्तविकता होसमा आएपछि मात्र खुल्ने छ । शुक्रबार राती ७ बजे बा १२ च ४६४६ नम्बरको कारले ग २ प ८९८८ र ग ५ प ५४५७ नम्बरको दुईवटा मोटरसाईकल र ग १२ प ८४१० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । यस्तै, स्कुटर चालक पोखरा १ बागबजारकी २१ बर्षिया सोनी श्रेष्ठ घाईते थिइन् । घाईते भएकी श्रेष्ठसँगै सामान्य घाईते भएकी कारमा सवार पोखरा १९ की २० वर्षीय मञ्जु मगर उपचार पछि घर फर्किएका छन् ।
“दुईजना मध्य दाईको अवस्था अहिलेसम्म गम्भीर छ,भाइ पनि होसमा छैनन,एकजना भेन्टिलेटरमा नै छन् अर्का एकजनालाई भेन्टिलेटर बाहिर राखेपनि बेहोस छन् ,“मणिपाल प्रहरीमा कार्यरत प्रहरी जवान खगेन्द्र प्रसाद पन्तले बिग.एफ.एमसँग टेलिफोनमा भने,“टाउकोमा चोट लागेर भेन्टिलेटरमा रहेका नविनको बारेमा डाक्टरहरुले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छैन ।“ कार चालक पोखरा ३३ का ३० बर्षिय महेश्वर अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुर्घटना पछि फरार रहेका भनिएका ग ५ प ५४५७ नम्बरको मोटरसाईकल चालकको बारेमा भने खुलाईएको छैन ।
