
पोखरा, मंसिर १ । कृृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपालमा उत्पादित कफीको गुणस्तर वृद्धि र उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । १४ औँ राष्ट्रिय कफी दिवसको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको कफीको छुट्टै पहिचान बनिसकेकोले यसको छविलाई कायम राख्नुपर्ने बताए । तर, नेपालले निर्यात गर्ने नगदेबाली कफीको आयात पनि भईरहेको हुँदा उत्पादनमा जोड दिई कफी आयात रोक्नुपर्ने मन्त्री खनालले बताए ।
‘कफीको बारेमा जनचेतना पनि छ, हामीसँग नीति पनि छ, हामीले सुपरजोन बनाएका छौँ, सुपरजोनलाई आगामी वर्ष अझै बढि बजेट विनियोजन गरेर अगाडि बढिनेछ ।’ उनले बताए । नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी, स्याङ्जा, अर्घाखाँची, प्यूठान र पाल्पालाई कफीको सुपरजोनमा राखेको छ । सुपरजोनलाई योजना, बजेट तथा कर्मचारीको अभाव नहुने उनले थपे । कफी किसानको समस्या न्यूनीकरण गर्न तथा उनीहरुको गुनासो तत्कालै व्यवस्थापन गर्न गुनासो व्यवस्थापन समितिमा तत्कालै सम्पर्क गर्न उनले सुझाव दिए ।
