
रेम बिक पोखरा, ६ भदौ । शनिबार हुने सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पुरा भएको छ । चर्चित हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने ग्राण्ड फिनाले भव्य र सभ्य हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिएका छन् ।
भोली १२ बजेदेखि ग्राण्ड फिनालेको कार्यक्रम शुरु हुने उनले बताए । कार्यक्रम करिब तीन घण्टासम्म चल्नेछ । कुन्साङ गुरुङ, ल्हामो डोल्कर, सन्दीप ढुंगाना र राम लिम्बु पाँचौ सँस्करणको विग आइकनका फाईनलिस्ट हुन् । भोलीको दिनले नै उनीहरुमध्ये एक जनालाई यो पटकको विग आईकनको उपाधी दिलाउनेछ । उपाधी होडमा लागेका उनीहरुसंगै भोली उत्कृष्ट १० प्रतिस्पर्धीहरुको समेत प्रस्तुती रहनेछ ।
फाईनल सम्म पुगेका प्रतिस्पर्धीहरुले विग आईकनको उपाधी हुत्याउने होडमा आ–आफ्नै तरिकाले भोट मागिरहेका छन् । आज दिनभरी जसो उनीहरु भोट माग्नमै व्यस्त छन् । यता विग एफएमले भने भोली कार्यक्रम हुने स्थान पोखरा सभागृहलाई पुरै श्रृंगारपटार गरेर झकिझकाउ पारेको छ । ‘हाम्रो वार्षिकोत्सवसंगै हुने यो ग्राण्ड ईभेन्ट ऐतिहासिक हुनेछ ।’ एफएमले भनेको छ ।
यो पटक विग आईकनमा ५० जिल्लाका ८ सय ९० प्रतिस्पर्धीहरुले आवेदन फाराम भरेका थिए । करिब दुई महिनासम्मको निरन्तर अडिसनपछि चार जना फाईनलका लागि छानिएका हुन् ।
बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
