बागलुङमा अब कोदो फलाउने किसानलाई पुरस्कार दिइने

Share:

१७ मङ्सिर, बागलुङ । कोदो बाली जोगाउन बागलुङको ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए ।

उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । ‘वैज्ञानिक हिसाबले रकम बाँड्छौँ’ नगरप्रमुख नेपालीले भने, ‘बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।’ खेती गरेको जग्गा,उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्य्विधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ’, उनले भने, ‘परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।’मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ ।

कमेन्ट गर्नुहोस्
Share: