दुई वर्षभित्रै प्रदेशका सबै जनतालाई आधारभूत खानेपानी खुवाउन गण्डकी सरकार प्रतिवद्ध छ:मन्त्री बस्नेत

Share:

२१ पुस,श्यामशितल परियार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दुई वर्षभित्रमै प्रदेशका सबै जनतालाई आधारभूत खानेपानी खुवाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लमजुङको सुन्दरबार नगरपालिका–९, पैह्रेमा रहेको लसुनेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौँ वार्षिक साधारण सभा तथा नव निर्मित पानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

‘अधिकार क्षेत्रभित्र रहेतापनि स्थानीय सरकारले सबै आर्थिक व्यवस्थापन गर्न सक्दैन । प्रदेश सरकार समेत लाग्नुपर्छ भनेर प्रदेश सरकारले दुई वर्षभित्रैमा आधारभूत खानेपानी यो प्रदेशका सबै जनतालाई खुवाउने प्रतिवद्धता व्यक्त गरेको छ,’ उहाँले भन्नुभयो, ‘यो प्रतिवद्धता सरकारले पूरा गर्छ ।’अर्को एक प्रसंगमा मन्त्री बस्नेतले सरकारको समस्या हल गर्न नै यो सरकार बनेको उल्लेख गर्नुभयो । ‘देखिने गरी विकास गर्न सरकार तयार रहेको छ । यस कार्यमा सबै दल, नागरिकको उतिक्कै सहयोग र सद्भाव आवश्यक छ,’ उहाँले भन्नुभयो ।

यसैगरी, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले नगरभित्रका सबै वडाका नागरिकलाई शुद्ध खानेपानी पुर्याउन स्थानीय सरकार लागि पर्ने बताउनुभएको छ । कुल ४ करोड ११ लाख ६८ हजार ८ सय १० रुपैयाँको लागतमा सुन्दरबजार नगरपालिका–९, फेदीकुना सालघारी र सुन्दरबजार–९, कै शिख्रमा पानी प्रशोधन केन्द्र निर्माण गरी उपभोक्तालाई प्रशोधित पानी वितरण गरिएको खानेपानी समितिका अध्यक्ष प्रेम जिसीले बताउनुभयो । उहाँका अनुसार लसुनेखोला खानेपानीबाट फूलबारी, पैह्रे र फेदीकुनाका गरी ६ सय ५९ घरधुरी लाभान्वित भएका छन् । लसुनेखोला खानेपानी आयोजनाले नियमित रुपमा शुद्ध पिउने पानी वितरणमा गर्नुपर्नेमा उपभोक्ताले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: