प्रतिष्ठित उत्प्रेरक पोखरेली बिकल शेरचन विवेकशील साझा पार्टीमा

Share:

पोखरा । प्रतिष्ठित उत्प्रेरक तथा नेतृत्व विकास प्रशिक्षक बिकल शेरचनले विवेकशील साझा पार्टीको सदस्यता लिएका छन् । सन् १९९० को नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष समेत बनिसकेका ६७ वर्षीय जेसिआई सिनेटर शेरचन आफै ललितपुर बखुण्डोल स्थित पार्टी कार्यालयमै पुगेर संयोजक रविन्द्र मिश्रको हातबाट पार्टी सदस्यता लिएका हुन् ।

शेरचन हाल नेशनल इस्टिच्यूट फर लिडरशिप डेभलपमेन्ट (एनआईएलडी) का सहसंस्थापक, निर्देशक छन् । दशकौं अघिदेखि उनले प्रेरणामूलक प्रवचन तथा व्यक्तित्व एवं नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् ।

सन् १९७५ मा पोखरा जेसीज सुरु गर्दा शेरचन संस्थापक सदस्य पनि हुन् । शेरचन १९७७ मा महासचिव भए भने १९७८ मा पोखरा जेसिजको नेतृत्व लिएका थिए ।

पोखराको शिक्षा क्षेत्रमा योगदानः

पोखराको भैरवटोलमा जन्मिएका शेरचन माध्यमिक तह पढ्नका लागि काठमाण्डौ पुगे । २०२५ सालमा एसएलसी दिए । भारतबाट डिग्री हासिल गरे ।

वि.सं. २०३५ सालमा बालमन्दिर अंग्रजी माध्यममा पढाई हुन्थेन । पोखरा जेसीजको सहकार्यबाट व्यक्तिगत रुपमै उनले पूर्व प्राथमिक तहमा अंग्रेजी माध्यमको शिक्षण संस्था खोले । निजी श्रोत र लगानीबाट मोहोरिया टोलमा श्री ३ धनशमशेरको सेतो दरबारमा ४५ विद्यार्थी, ६ जना शिक्षक, एक चालक खोजेर थालनी भयो । त्यो अन्नपूर्ण नर्सरी नै अहिले नदिपुर स्थित माउण्ट अन्नपूर्ण स्कुल हो ।

त्यसपछि, लेखनाथ अर्घौंमा बुबाले दिएको ४० रोपनी र साँधमै रहेको मामाले दिएको ४० रोपनी जग्गा गरी ८० रोपनी क्षेत्रफलमा जुनियर सिटीजन एकेडेमी खोले । यो २०४४ सालको कुरा हो । २०५० सालतिर फूलबारी स्थित माउण्ट अन्नपूर्ण साईन्स क्याम्पस खोले । ३ बर्ष चलाएर १० शेयर होल्डर भित्राए ।

सन् २००५ मा गण्डकी मेडिकल कलेजमा पनि लगानी गरे । अर्घौं स्थित जुनियर सिटिजन एकेडेमी सुन्दरबजार सर्यो । अर्घौंको त्यो जग्गामा गण्डकी मेडिकल कलेजले भवन बनाइरहेको छ । पोखरा विश्वविद्यालयका लागि उनको पहल रह्यो । टुरिज्म एण्ड होटल मेनेजमेन्ट कलेजमा पनि उनी जोडिए ।

घरपरिवार पोखरामै छन् । उनी कामको सिलसिलामा काठमाण्डौं पोखरा आउने जाने गरिरहन्छन् । बौद्धिकताका धनी उनी झण्डै ७० वर्ष पुग्न लाग्दा समेत उनको सक्रियता घटेको छैन । फूर्तिफार्ती उत्तिकै छ । मोटिभेशनल ट्रेनिङ लिनेहरु उनलाई कहिल्यै बिर्सन सक्दैनन् ।

पार्टी संयोजक रविन्द्र मिश्रले आदरयोग्य यस्ता व्यक्तित्वको प्रवेशले पार्टीलाई उर्जा मिलेको बताएका छन् । गण्डकी प्रदेश संयोजक महेश भण्डारीले प्रेरक व्यक्तित्वको साथ र समर्थनले हौस्याएको बताए । ‘उहाँ नेपालकै ख्यातिप्राप्त मोटिभेटर, म अाँफै पनि उहाँबाट प्रशिक्षित व्यक्ति हुँ । देशभरका हजारौँ युवा व्यवसायी र अभियन्ताहरूका अादर्श व्यक्ति यसरी विवेकशील साझा पार्टीमा अौपचारिक रूपमा आवद्ध भएको खबरले हामी सबैमा नयाँ उत्साह थपिएको छ।’ – भण्डारीले भने ।

कमेन्ट गर्नुहोस्
Share: