‘गम्भीर अवस्थाका बिरामीको उपचार गर्ने ‘रिक्स’ नलिनु डाक्टरको गैरजिम्मेवारीपना हो’

Share:

यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्त्वपूर्ण पक्ष भएतापनि नेपालमा यो विषय ओझेलमा परेको छ । अझ पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा सचेत छन् भनिए पनि यौन तथा प्रजननको बिषयमा भने आम रुपमा अनविज्ञ नै देखिन्छन् ।

राज्यले हरेक व्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको इज्जत, संरक्षण र पूर्ति गर्नुपर्छ भनेको छ । त्यसका लागि प्रजननको विषयमा प्रशस्त वहस हुनु जरुरी छ । यसले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा महिला पुरुषमा जागरुकता ल्याउने छ ।

यौनिक तथा प्रजनन स्वास्थ्य र अधिकारको विषय हरेक महिलाको मानव अधिकारको विषय पनि हो तर आफना अधिकारहरू माग गर्ने वातावरण हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । समाजमा ठूलो समस्याको रुपमा खडा भएको किशोरकिशोरीहरूको यौनिक तथा प्रजनन स्वास्थ्य एवं अधिकार संरक्षणका लागि राज्यबाटनै पहल हुनु जरुरी छ ।

प्रजनन स्वास्थ्यभित्र परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य, स्याहार, गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार, यौन रोग संक्रमण र एचआईभी र एड्स, बाँझोपनको रोकथाम तथा उपचार, किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्य, प्रौढ महिलाहरुको स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा आदि पर्छन् ।

नेपालमा महिला प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र यसबारे राज्य तहबाट भएका काम कारवाही अनि चिकित्सा क्षेत्रमा भएका सुधार बारे ३५ वर्षदेखि स्वास्थ्य सेवामा क्रियाशील नर्भिक इन्टरनेशनल हस्पिटलकी वरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्यसँग कुराकानी गरेका छौं ।

–तपाईं स्त्री रोग विशेषज्ञ, विगतमा लामो समय सरकारी स्वास्थ्य सेवामा पनि विताउनु भएको छ । नेपालका महिलामा प्रजननसम्बन्धी सबैभन्दा बढी के कस्ता समस्याहरु देख्नु भएको छ ? के ती समस्याहरुलाई सम्बोधन गर्नको लागि सरकारले अपनाएका विधि र प्रक्रियाहरु पर्याप्त छन् ?

महिला प्रजननको अवस्थालाई हेर्दा नेपालमा विशेष गरेर सबैभन्दा बढी देखिएको समस्या भनेको प्रोल्याप्स (पाठेघर झर्ने समस्या) नै हो । यो समस्या निकै पुरानो समस्या हो । यो पुरानो समस्या आज पनि उत्तिकै मात्रामा छ भन्नु पर्दा हामी कुन अवस्थामा छौं भन्ने थाहा हुन्छ । राज्य तहबाट विभिन्न काम नभएको पनि होइन तर खै समस्या ज्यूँ का त्यूँ छ ।

ग्रामीण भेगमा घरमै बच्चा जन्माउने चलन अझै पनि व्याप्त छ । यसले समस्या यथावत राखेको छ । लामो वेथा पछि बच्चा जन्माउने अनि बच्चा जन्मिएको छोटो समयमै पून काममा फर्कने हुनाले ग्रामीण भेगका महिलाहरुको पाठेघर झर्ने समस्या उच्च विन्दुमा छ ।

शहरी भेगमा भने यस्तो समस्यामा कमी आएको छ । विशेषतः कम उमेरमा विवाह गरेका, असुरक्षित रूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने अथवा पाठेघर झर्ने समस्या बढी हुन्छ । ग्रामीण भेगका जनता अझै पनि हस्पिटलको पहुँच भन्दा बाहिर छन् । यसले पनि ठूलो समस्या निम्त्याएको छ ।

सरकारी तवरबाट महिला प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न काम भइरहेका छन्, जस्तोः विभिन्न संघसंस्थाको सहयोगमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, सुत्केरी हुनु पूर्व र पछिको अवस्थामा पोषणयुक्त आहारको व्यवस्था, निःशुल्क औषधी, भ्याक्सिन आदि । तर यस्ता कार्यक्रम पर्याप्त रुपमा लिएर हरेक दुर्गम क्षेत्रमा पुग्न नसकेकै कारण समस्यामा कमी आउन नसकेको हो ।

चेतनामूलक कार्यक्रमको पनि अभाव भएको हो । महिलाहरु अझै पनि आफ्नो प्रजनन स्वास्थ्यबारे अनभिज्ञ देखिन्छन् । सरकारले कामको सुरुवात गर्छ तर त्यसलाई निरन्तरता दिने अनि उचित रुपमा काम भएको वा नभएको अनुगमन नहुँदा पनि यस्ता कार्यक्रम फेल हुने गरेका छन् ।

यसका लागि हामी टाढा जानु पर्दैन, यही भक्तपुरको कुरा गरे पुग्छ । भक्तपुर अस्पतालमा ५ वर्ष मैले काम गर्दा त्यहाँका जनताको चेतना स्तर देखेर अचम्ममा परें । यहीँ त यस्तो छ भने अन्य जिल्ला लगायत दुर्गमको अवस्था कस्तो होला ? त्यो अनुमान लगाउन सकिन्छ । सरकारको आँखा यहीँ १३ किलोमिटरमा त पर्न सकेको छैन भने अन्य क्षेत्रमा के होला अवस्था ?

–नेपालमा मातृमृत्युको मुख्य कारण के हो ? त्यसलाई सम्बोधन गर्नको लागि सरकारले अपनाएको नीति र विधिहरु पर्याप्त छन् कि छैनन् ? त्यसलाई घटाउन वा लक्षित उद्देश्यलाई हासिल गर्नका लागि सरकारले के गर्नु जरुरी छ ?

महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा सो कारणले हुने मृत्यु मातृमृत्यु हो । गर्भावस्थामा हुने विभिन्न समस्या जस्तोः उच्च रक्तचाप, धेरै रगत बग्ने समस्याले आमाको मृत्यु हुने गर्दछ । मुख्य रुपमा हेर्दा उच्च रक्तचाप र रगत बग्नुनै मातृमृत्युको मुख्य कारण देखिएको छ ।

विशेष गरेर गर्भावस्थामा डाक्टर र हस्पिटलको पहुँचबाट टाढा भएका महिला यस्तो समस्याको सिकार हुने गरेका छन् । गर्भावस्था भनेको जोखिमयुक्त अवस्था हो । पोषिलो खाना, आराम, नियमित स्वास्थ्य परीक्षणका साथै डाक्टरको सल्लाह अनुसार बस्नुपर्ने अवस्थामा त्यसका ठीक विपरीत महिलाहरुले गर्भावस्थाको बेला पनि जोखिमयुक्त काम गर्दा वा गर्नुपर्दा मृत्युसम्मको अवस्थामा उनीहरु पुग्छन् ।

मुख्यतः उच्च रक्तचाप, रक्तअल्पता (एनिमिया), घरमै सुत्केरी गराउने गर्नाले पनि मातृमृत्युको जोखिम बढी छ । सुत्केरी अवस्थामा रगत धेरै बग्ने, साल नखस्ने समस्या भएपछि अस्पताल लैजादालैजादै धेरैले ज्यान गुमाउनु परेका थुपै्र उदाहरण छन् ।

सरकारले मातृमृत्यु दर घटाउन २०६५ सालतिर देखिनै हो ‘आमा सुरक्षा’ कार्यक्रम सुरु गरेको । अझ हस्पिटलमा गएर बच्चा जन्माउन प्रोत्साहन गर्न २ हजार भत्ता समेतको व्यवस्था गरेको छ ।

सरकारले गर्भजाँच, गर्भावस्थामा हुने रक्तअल्पता कम गर्न वडा स्तरसम्म आइरन चक्की वितरण कार्यक्रम चलाएको थियो । स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन भत्ता, यातायात खर्च र सुविधासम्पन्न स्थान वा अस्पतालमा पठाउन परे हवाइभाडा दिनेलगायत थुप्रै कार्यक्रम पनि ल्यायो । तर दुर्गम क्षेत्रमा कार्यक्रम व्यवस्थित नहुँदा सामान्य समस्याको पनि उपचार नपाएर सुत्केरीको ज्यान जाने गरेको स्थिति छ ।

भत्ता दिने अनि चक्की बाँडेर मात्र यो समस्याको समाधान हुने होइन । जबसम्म जनताको पहुँचमा अस्पताल, डाक्टर हुँदैन, तवसम्म यो समस्याको समाधान हुनेमा विश्वास गर्न सकिँदैन ।

अहिले आएर पनि तपाईले मातृमृत्युसम्बन्धी कुनै केश हेर्नु भएको छ ?

छ, भर्खरै मात्र बुटवलबाट एक विरामी ल्याइएको थियो । उनको रक्तचाप यति उच्च थियो कि उनलाई ५–६ पटक फिट्स (लगलग कामेर मुर्छासम्मै पर्ने अवस्था) आइसकेको थियो । भैरहवा हस्पिटलमा उनको केशलाई लिएर डाक्टरहरु निकै त्रसित बनेका थिए । अझ नेपालको मुलुकी ऐनले डाक्टरहरुलाई निकै त्रसित पारिदिएको छ जसले गर्दा अस्पतालहरुले केही क्रिटिकल केशहरु आयो भने लिइहाल्न डराउँछन् । यो स्वभाविक पनि हो । केश निकै क्रिटिकल र जोखिमयुक्त थियो ।

भैरहवा बुटवल जस्तो सुगम क्षेत्रमा पनि यस्तो केश देखेर हामी पनि अचम्ममा परेका थियौं । भैरहवामा सम्भव नभएपछि विरामीको परिवारकै सल्लाहमा म कहाँ ल्याइएको थियो । विरामी कोमामा थियो । यही ल्याएपछि पनि उसलाई दुई तीन पटक फिट्स आएको थियो । सुरुमा त विरामीको अवस्था देखेर म पनि निकै त्रसित भएकी थिएँ । विरामीलाई जसरी पनि बचाउन तत्कालै तत्काल सुरु गरें । बिरामीको अवस्था निक्कै गम्भीर रहेको र बचाउन सक्ने सम्भावना कम रहेकोबारे हस्पिटल व्यवस्थापन, मेडिकल काउन्सिल, सिनियर डाक्टरहरु लगायत परिवारसँग पनि छलफल गरें ।

ब्लड प्रेसरलाई सामान्य अवस्थामा झारेर अपरेशन गरियो । ७ महिनाको बच्चा एक केजीको पनि थिएन । त्यस्तो अवस्थामा बच्चा निकालेर आमा बच्चा दुवैलाई बचाए । करिव ५० दिन अस्पताल बसेपछि आमा बच्चा घर फर्किए । उनीहरु अहिले स्वस्थ्य छन् ।

हुन त सरकारले गर्भवती, सुत्केरी, सुत्केरीपछिको ४२ दिनसम्मको समस्यामा काँप्ने, मुर्छा पर्ने समस्या हुँदा विरामीलाई म्याग्नेसियम सल्फेट दिनु पर्छ भनेर निःशुल्क वितरण पनि गरेको छ । सुत्केरी किटमै यो औषधि राखेको छ । तर औषधि पर्याप्त वितरण नहुँदा यस्ता समस्या आउने गरेको छ ।

–त्यस्तो गम्भीर अवस्थाको विरामीलाई डाक्टर र हस्पिटलले बचाउन लाग्नु भन्दा अन्त रिफर गर्नु गैरजिम्मेवार तरिका भएन र ?

एकदमै गैर जिम्मेवारपन हो । अन्तिम अवस्थामा विरामी छ भन्ने डाक्टरलाई थाहा छ तर त्यो रिस्क लिने कि नलिने त पुरै हस्पिटलको व्यवस्थापन र डाक्टरहरुले नै निर्णय गरेर उपचार थाल्नु पर्ने हो । तर त्यो रिस्क लिन नचाहेको हो वा जागिर जाने डरले हो त्यस्तो अवस्थाको विरामीलाई माथिल्लो वा सुविधासम्पन्न हस्पिटलमा रिफर गरियो । सामान्य उपचार गर्नसम्म पनि डराउनु त एकदमै गैर जिम्मेवारपन हो । त्यस्तो अवस्थाको विरामी आएको खण्डमा हामीले तत्काल बिरामीको उपचार थालेर हस्पिटल व्यवस्थापन अनि मेडिकल काउन्सिल लगायत परिवारसँग पनि छलफल गर्नुपर्ने हुन्छ । किनकि भोलि केही गरी तलमाथि भएको खण्डमा डाक्टरले अधिकतम् कोसिस गरेको हो, त्यसमा ऊ दोषी होइन भन्ने जानकारी हुनुपर्छ । हामीले जिम्मेवारी लिन डराउनु हुन्न । हाम्रो पहिलो कर्तव्य भनेको नै विरामीको उपचार हो ।

–अनि, नेपाली महिलाहरुमा प्रजनन स्वास्थ्यसम्बन्धी अर्को मुख्य समस्या फिस्टुला पनि हो । यसको कारण र उपचार के हुन सक्छ ? यसलाई रोकथाम गर्न के गर्नु जरुरी छ ?

फिस्टुला भनेको बच्चा जन्माउने बेला बच्चा जन्मन नसकेर अड्कियो भने बच्चाको टाउकोले पिसाव थैलीलाई थिच्छ र उक्त स्थानमा रक्तसंचार बन्द हुन पुग्छ । त्यसले उक्त भाग मर्छ । जसले गर्दा त्यो ठाउँमा विस्तारै प्वाल पर्छ र त्यहीँबाट पिसाव चुहिन थाल्छ । यसरी पिसाव चुहिनुलाई फिस्टुला भनिन्छ । विशेष गरेर ग्रामीण भेगमा वा घरमै प्रसुति गर्नेहरुमा यो समस्या धेरै छ ।

डाक्टरको निगरानीमा रहेर निरन्तर चेकअप गर्ने अनि स्वस्थ्यकर, पोषिलो खाना खाने गर्ने र प्रसतिपछि राम्ररी आराम गर्ने हो भने यस्तो समस्या आउँदैन । तर भौगोलिक विकटताले गर्दा हस्पिटलको पहुँच कम भएका नेपालका केही जिल्लामा यो समस्या धेरै छ ।

यसबारेस्वास्थ्य सम्वन्धि जनचेतना जगाउने र स्वास्थ्य सेवा दिने हो भने यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । तर अहिले दुर्गममा डाक्टरहरु जान मान्दैनन् । उनीहरुलाई उचित सेवा सुविधा दिएर पनि त्यस्ता स्थानमा लैजानु सरकारको कर्तव्य हो । कतिपय ठाउँका जनताले त हस्पिटलनै देखेका हुँदैनन् । त्यस्तो ठाउँमा स्वास्थ्य संस्था खुल्नु पर्छ र सेवा दिनु पर्छ जसले गर्दा यस्ता समस्यालाई कम गर्न सकिन्छ ।

–एएसआरएच (अडोलेसन सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ) सम्बन्धी नेपालले अपनाएका प्रावधानहरु के के हुन्? तपाईको अनुभवमा कस्ता समस्याहरु बढी आउने गरेका छन् ? यसबाट नेपालका किशोरकिशोरीहरु कसरी लाभान्वित हुन सक्छन् ?

१० देखि १९ वर्ष उमेर समूहमा रहेका किशोरीहरुमा आउने मानसिक परिवर्तन अडोलेसन हेल्थभित्र पर्दछन् । जसलार्ई यूथ हेल्थ पनि भनिन्छ । किशोरावस्थामा आउने परिवर्तनलाई लिएर मैले प्रसुतिगृहमा रहँदा देखिनै काम गरेको थिए ।

सरकारसँग छलफल गरेर हामीले वीर हस्पिटलमा अडोलेसन हेल्थ क्लिनिक पनि खोलेका थियौं । हामी सवै डाक्टरहरु मिलेर पालै पालो गएर सेवा दिने गरेका थियौं । अडोलेसन हेल्थ क्लिनिकमा किशोरीहरुलाई परामर्श दिनेदेखि उनीहरुमा आएका मानसिक समस्याको समाधानमा हामीले काम गरेका थियौं ।

सरकारले यसलाई निरन्तरता दिएन र यो बन्द भयो । अहिले सरकारी तवरबाट यो काममा चासो दिएको पाइदैन । पछि सरकारले एल्डर हेल्थमा भने केही काम गरेको थियो तर त्यसमा पनि निरन्तरता दिएको जस्तो छैन ।

अहिले हस्पिटलले अडोलेसन क्लिनिकहरु संचालन गरेको पाइँदैन । यूथ हेल्थ सवैभन्दा मेजर समस्याको रुपमा आएको छ । धेरै अविभावकहरु आफ्ना वच्चा कोठाबाट बाहिर नै ननिस्कने अनि भर्चुअल दुनियामै रमाउने गरेको समस्या लिएर आउँछन् ।

सरकारी तवरबाट विभिन्न अस्पतालमा अडोलेसन क्लिनिक, मेनोपज क्लिनिक, एल्डर क्लिनिकहरु स्थापना गरी सेवा प्रदान गरिनु उचित हुन्छ । क्लिनिकमा परामर्श पनि हुने भएकाले किशोरावस्थामा यो आवश्यक छ । किशोरावस्थामा हुने परिवर्तनहरुका बारेमा अविभावकलाई पनि ज्ञान हुनेछ कि यो हर्मोनल परिवर्तनको नियमित प्रक्रिया हो । किशोरावस्थामा मानसिक, शारिरीक विकासको क्रममा आउने परिवर्तनलाई सही ढंगले मार्गदर्शन गर्न यस्ता क्लिनिक सहयोगी हुनेछ । किशोरावस्था भनेको निकै नै ट्रान्जेशनल समय हो जुन वेला उनीहरुले सही परामर्श पाउनुपर्छ । यो अवस्थामा इमोसन्सहरु निकै नै तलमाथि भइरहने हुँदा पनि सही परामर्शको आवश्यकता पर्छ ।

यहाँ थुप्रै अडोलेसन र मेनोपजका समस्या लिएर आउनेहरु छन् । उनीहरुलाई हामीले सेवा दिइरहेका छौं । हामी डाक्टरहरु मिलेर मेनोपोज सोसाइटी अफ नेपाल (मेसोन) भनेर संस्था खोलेका छौं र सेवा दिइरहेका छौं । हामीले एल्डरहरुमा आउने समस्याबारेमा काम गर्छौ । विभिन्न भेगहरु स्कूल, हस्पिटल लगायतका ठाउँमा गएर जनचेतनामूलक कार्यक्रमहरु गर्ने, परामर्श दिने गरेका छौं । यो कार्यक्रम विशेष गरेर स्कूलहरुमा बढी प्रभावकारी भएको छ ।

–तपाई। लामो अनुभव सँगालेका स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । हामीले देख्ने गरेको सत्य तेस्रो विश्वका गरिब तथा विकासोन्मुख देशका जनताहरु स्वास्थ्यसम्बन्धी खोजको लागि गिनिपिग (वैज्ञानिक अनुसन्धानको लागि प्रयोग)को रुपमा प्रयोग हुने गरेको भनी आलोचना हुन्छ । अहिले पाठेघरको क्यान्सरविरुद्धको खोप भन्दै नेपालमा पाइलट प्रोजेक्टको रुपमा २ जिल्लामा लागू गरिएको ह्युमन प्यापिलोमा भाइरस भ्याक्सिन (एचपीभी) पनि त्यसैको एक रुप हो भन्ने गरिन्छ । यसबारेमा तपाईको भनाइ के छ ?

यो विल्कुलै गिनिपिग बनाउन खोजिएको होइन । यो एकदमै राम्रो प्राक्टिस हो । नेपालमा यो भ्याक्सिन आज आएको होइन कि २००७ तिर नै आएको हो । यो भ्याक्सिनको सुरुवात मैले मेरै छोरीहरुबाट गरेको थिए । विभिन्न संघसस्था, अष्ट्रेलियन एम्बेसीसँग मिलेर हामीले यो भ्याक्सिन ल्याएका थियौं । इअन फ्रेजरले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) पत्ता लगाएर यसको प्रयोग गरिसकेको थियो । इअन फ्रेजर आफै नेपाल आएर यो भ्याक्सिन वितरण गरेको थियो । नेपालमा लगभग ३० हजार बच्चाहरुलाई भ्याक्सिन दिएर इअन गयो ।

९ देखि १३ वर्षबीचका बच्चाहरुलाई यो दिइन्छ । पछि सरकारलाई यो भ्याक्सिन ल्याउनु पर्छ, नेपालमा क्यान्सरको बढ्दो अवस्थालाई नियन्त्रण गर्न सहयोगी हुन्छ भनेर हामीले बारम्बार सरकारलाई नघच्घच्याएको होइन । तर सरकारले सुनेन ।

अहिले आएर बल्ल यसबारे काम सुरु भएको छ । सरकारले केही जिल्लामा यसलाई पठाएको छ । पहिलेनै परीक्षण भइसकेको हुनाले यसलाई पुनः परीक्षण गरिबस्नु जरुरी छैन । बरु सवैको पहुँच हुने गरी सरकारले यसलाई विस्तार गर्नु पर्छ । विश्वले अहिले यो एचपीभी भ्याक्सिनलाई निकै प्राथमिकतामा राखेको छ ।

बाहिर त छोरा बच्चालाई पनि यो भ्याक्सिन दिइएको छ एचपीभी भाइरसले जसलाई पनि अट्याक गर्न सक्छ नि, तर नेपालमा छोरी बच्चाहरुलाई मात्र दिइएको छ । अझ केही महंगो भएकाले सवैको पहुँचमा नपुग्न पनि सक्छ । त्यसैले यो भ्याक्सिन ल्याउन कि त प्राइभेट सेक्टरलाई अथोरिटि दिनु पर्यो कि त सरकार आफैले ल्याएर वितरण गर्नु पर्यो । त्यसो गरेमा क्यान्सरको अवस्था घट्ने निश्चित छ ।

–नेपाली महिलाहरुमा बाँझोपन एउटा समस्याको रुपमा देखिएको छ । त्यसैगरी, असुरक्षित यौन सम्बन्धका कारण विवाह पूर्व अनि अझ कलिलो उमेरमै गर्भवती हुने गरेको पनि पाइन्छ । यसबाट पर्न सक्ने असर के के होलान् ?

बाँझोपनको कारणमा पीसीओएस (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) एक हो । पिसिओएस हुने कुनै कारक तत्त्व छैन । तर, पिसिओएस भइसकेपछि हर्मोनको परिवर्तनले गर्दा विभिन्न समस्या उत्पन्न हुन्छ । अण्डाशयबाट निस्कने जति पनि हर्मोन हुन्छन् ती सबै हर्मोनमा परिर्वतन ल्याइदिने भएकाले गर्भाधानमा असर गर्छ ।

त्यसैगरी मोटोपन भएकाहरुमा बाँझोपना हुन सक्छ । सुगर, थाईराइड पनि बाँझोपनाको अर्को कारक हो । कुनै पनि रोग लाग्न नदिने, लागि हालेमा पनि समयमै उपचार गर्ने हो भने समस्या आउँदैन । टीबी भएका महिलामा पनि बाँझोपनको समस्या हुन्छ । पाठेघरमा पनि टीबी हुन्छ र सुरुमै उपचार गर्ने हो भने निको हुन्छ । कतिपयलाई पाठेघरको टीभीबारे थाहा नै छैन । पाठेघरको टीभी भएकाहरुलाई महिनावारीको समय कि त धेरै रगत बग्छ कि त रगत नै बग्दैन । महिलाले यस्तो समस्याको बेलैमा उपचार गर्ने हो भ निको भए पश्चात बच्चा जन्माउन सक्छन् ।

कलिलै उमेरमा गर्भवती हुनेहरु बढ्दैछन् । योे निकै विकराल समस्या हो । असुरक्षित यौन सम्वन्धबाट कलिलै उमेरमा गर्भवती हुने अनि जहाँ पायो त्यही गएर गर्भपतन गर्ने गर्नाले पनि पछि बच्चा नहुने समस्या बढेको छ । कतिपय डरत्रासका कारण जस्तो पनि ठाउँमा गएर गर्भपतन गर्छन यसले इन्फेक्सन बढाउँछ र पछि क्यान्सर जस्तो खतरनाक रोग पनि लाग्न सक्छ । यसबारे किशोरीहरु सचेत हुन जरुरी छ ।

अर्को समस्या भनेको पुरुषमा नै बच्चा जन्माउन सक्ने क्षमता नहुनु हो ।

–निश्चय पनि तपाईंले त्यस्ता ( बाँझोपन) भएका महिलाहरुसँग उपचारको क्रममा भेटघाट गर्नुपर्ने हुन्छ । तपाईंले त्यस समस्याका कारण के कस्ता पारिवारिक तथा सामाजिक समस्या महिलाले भोग्नु परेको अनुभव गर्नुभएको छ ?

एकदमै । परिवारका सदस्यबाट दिनरात अनावश्यक प्रेसर दिने गर्दा महिलाहरु मानसिक रुपमै विरामी भएर आएका हुन्छन् । परिवार आफन्तले बच्चाको विषयमा दिनरात प्रश्न गर्दा उससँग के जवाफ दिने भन्ने हुन्छ । जसले उसको शारिरिक अनि मानसिक अवस्थामा पनि असर गरिरहेको हुन्छ । यसलाई म हिंसा भन्छु । ऊ पनि मान्छे हो नि, अनावश्यक टर्चर कति सहनु । आखिर बच्चा बनाउने रहर त सवै महिलामा हुन्छ ।

धेरै यहाँ रुदै आउँछन । कति त परिवार सहित आउँछन् । उनीहरुलाई लाग्छ, पुरुष सर्वेसर्वा हुन्., उसमा कुनै पनि समस्या छैन, समस्या त महिलामा मात्र हो । यस्ता समस्या लिएर आउनेलाई हामी सम्झाउँछौ । श्रीमान श्रीमती दुवैको प्रजनन क्षमता परिक्षण गरेर पठाउँछौं ।

अनावश्यक प्रेसरले गर्दा महिलाहरु मानसिक रुपमा कमजोर हुन्छन जसले प्रजनन स्वास्थ्यमा सिधै असर पनि गरिरहेको हुन्छ । यो कुरा परिवारले बुझ्नु जरुरी छ ।

केही समय पहिले म कहाँ एउटी महिला आइन् । विवाह भएको दश वर्षसम्म पनि बच्चा नभएको रहेछ । उनहरुले थुप्रै टेष्ट अनि उपचार गराएकी थिइन् । सवै रिपोर्ट हेर्दा नर्मल थियो । बायोप्सी पनि गरेको रहेछ सवै राम्रै देखिएको थियो ।

बच्चा नभएपछिको अवस्थामा उनी डिप्रेसनमा थिइन । श्रीमानले अर्को विहे गरेर बच्चा जन्माइसकेका रहेछन् । ती महिलाको अवस्था देखेर हामी पनि अत्तिएका थियौं । उनलाई अत्यधिक पेट दुख्ने र रगत बग्ने समस्या भएको थियो ।

मैले अल्ट्रा साउन्ड गरेर हेर्दा उनको पाठेघरमा मासु पलाएको देखें त्यसपछि त्यो मासु बढ्दै गयो भने भोलि त्यसले ठूलो असर गर्ने भएकाले पाठेघर नै फाल्नुको विकल्प भएन । उनलाई क्यान्सर भएको थियो । परिवारको साथ उनले पाइन् तर श्रीमानलेनै साथ दिएनन् । हाम्रो समाज यस्तो खालको छ । यस्तो केश ह्यान्डील गर्दा निकै पिडा हुन्छ ।

लामो समयसम्म बच्चा नहुँदा, महिनावारी हुँदा धेरै रगत बग्ने अथवा रगत नै नबग्ने, धेरै पेट दुख्ने जस्ता समस्या भएमा तुरुन्त उपचारमा लाग्नु पर्छ ।

  • रातोपाटी
कमेन्ट गर्नुहोस्
Share: