सरिता ठगी काण्ड : २ दर्जनले दिए साढे ५ करोड बढी ठगिएको उजुरी

Share:

११ माघ,पोखरा । विभिन्न प्रलोभानमा पारी करोडौं रुपैयाँ ठगेर फरार भएकी पोखरा बस्ने सरिताकुमारी रानालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेपछि ठगीमा परेका पीडितले प्रहरीमा उजुरी दिन थालेका छन् । गत आइतवार बाग्लुङको बडीगार्ड गाउँपालिका–८ स्थायी घर भई पोखरा-२६ अर्घौ बस्दै आएकी ४२ वर्षीय सरिताकुमारी राना काठमाडौंबाट पक्राउ परेकी थिइन् ।

विभिन्न प्रलोभानमा पारेर रानाले स्थानीयसँग करोडौं रकम ठगेर बेपत्ता भएपछि शुरूमा केही व्यक्तिले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । तर ठगीका अभियुक्त रानालाई प्रहरीले पक्राउ गरेपछि ठगीको पर्दा खुल्दै गएको छ । कास्की प्रहरीले थप अनुसन्धान अगाडि बढाएपछि आफू पनि ठगिएको भन्दै २ दर्जन पीडितले प्रहरीमा उजुरी दिएका छन् । बिहीवारसम्म सरिताबाट ठगिएको भन्दै करीब २ दर्जनले ६ करोड रुपैयाँ दाबी गर्दै उजुरी गरेको प्रहरीले जनाएको छ । तर उनले भने ३ करोड रुपैयाँ तिर्न बाँकी रहेको स्वीकार गरेकी छन् ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाका अनुसार पीडितको उजुरीका आधारमा सरिताले ठगेको रकम बिहीवारसम्म ५ करोड ७४ लाख १२ हजार ५ सय पुगेको छ । रानाले ठगेको ठूला रकममा घरजग्गा कारोबार र ब्याजमा रकम दिएका व्यक्ति छन् ।

कसरी रकम उठाउथिन सरिता ?

उनले आफ्नो परिवार बेलायतको राजधानी लण्डनमा रहेको भन्दै चिनजानका व्यक्तिलाई घरजग्गा खरिद गर्न र जग्गासँग घर साट्नेजस्ता प्रलोभन देखाउँदै रकम असुल्ने गर्थिन् । उनले घरजग्गा देखाएर रकम लिएपनि शर्त अनुसार घरजग्गा र रकम फिर्ता नगरेपछि पीडितले आफूहरू ठगिएको भन्दै प्रहरीलाई उजुरी गरेका थिए ।

तर कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङले रानाको कोही पनि परिवार लण्डनमा नभएको बताए । उनी पोखरामा फ्ल्याट भाडामा लिएर बसेकी थिइन् । फ्ल्याटमा काम गर्ने व्यक्ति, निजी सवारी र ड्राइभर समेत राखेकी रानामा उच्च महत्त्वाकांक्षा देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: