पर्वतको उच्च पहाडी भूभागमा हिमपात,किसानमा खुशीयाली

Share:

१२ माघ,पर्वत । पर्वतको उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको बताईएको छ ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्‍याएको स्थानीय कृषकले जानकारी दिएका छन् । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ ।

यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: