
१२ माघ,पोखरा । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको औँल्याएको हो ।
रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव मध्य हुँदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार उक्त वायुको सक्रियताले अहिले पनि देशका पश्चिम तथा मध्य र पूर्वाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । वर्षासँगै वायु प्रणाली कमजोर हुने हुँदा साँझतिरदेखि मौसममा सामान्यतया सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज पोखराको न्यूनतम तापक्रम ८.४ र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी पोखरामा २८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।भोलि आइतबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
