
पोखरा, १४ भदौ। नागरिक समाज पोखराका संयोजक एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल शनिबार पोखरामा सम्मानित भएका छन्।
स्वर्गीय राजनप्रासर (डागर) स्मृतिमा २०७६ सालमा स्थापित डागर स्मृति प्रतिष्ठान कास्कीले आयोजना गरेको स्मृतिसभामा पौडेल सम्मानितभएकाहुन् । डागरको १३औं वार्षिक पुण्य तिथिका अवसरमा पोखरामा आयोजित कार्यक्रममा पाँचहजार, पाँचसय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला सहितपौडेललाई सम्मान गरिएको थियो। उनलाई पुनरावेदन अदालत पोखराका न्यायाधीश एवं साहित्यकार डिल्लीराज आचार्यले सम्मान गरेका हुन् । सो पुरस्कारबाट यसअघि साहित्यकार आरएम डंगोल, सामाजिक अभियान्ता विश्वमोहन गौचन र प्रहरी निरीक्षक चन्द्रा गुरुङ सम्मानित भइसकेका छन्।
त्यस अवसरमा न्यायाधीश अचार्यले डागरको सम्झनामा कवितावाचन समेत गरेका थिए। उनले रमा प्रशार पोखरेली माटोकी धर्मपुत्री र पोखरेलीको कर्मपुत्रीभएको बताए। आचार्यले मानिसले चाह्यो भने समाज रुपान्तरण गर्न कुनै समय नलाग्ने विचार राखे। नेपाली समाज भ्रष्टचारको दलदलमा फँसेकोप्रति व्यङ्य गर्दै उनले सरकारी जागिर खाएको केही वर्षमै महल ठड्याउने र घरको माथिल्लो तलामा बसेर तलका इमान्दार व्यक्तिमाथि थुक्नेको आत्माले कहिल्यै शान्ति नपाउने बताए।
आफूलाई पोखरा र पोखरेली अति नै प्रिय लाग्ने भए पनि आफ्नो सरकारी सेवाका कारण छिट्टै पोखरा छोड्नुपर्दा नरमाइलो लागेको बताउँदै आफू जहाँ पुगे पनि पोखराको अनुभव र पोखरेलीको माया कहिल्यै नबिर्सने बताए। सम्मानित यक्तित्व रामबहादुर पौडेलले पोखरामा रहेका मापदण्ड विपरितका संरचना भत्काउन र नागरिकको हकअधिकारका लागि आफू सदैव प्रतिवद्ध रहेको स्पष्ट पारे। विश्व शान्ति स्तूपा पहिरोको खतरामा परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्तूपाको संरक्षणमा आफू र आफ्नो संस्था तत्पर रहेको बताए।
उनले धर्म निरपेक्षताको नाममा विदेशी धर्मले चलखेल गरेका गरेको र दिनदहाडै धर्म परिवर्तन गराउने काम भइरहेको बताए। सम्मान ग्रहण गर्ने, कसैको सहयोग लिने नागरिक समाज, पोखराको नीति नभएको भन्दै उनले आफूले पाएको सम्मान संस्थालाई हो भन्दै सम्मानस्वरुप प्राप्त गरेको पुरस्कार रकम संस्थालाई नै हस्तान्तरण गरे।
प्रतिष्ठानकी अध्यक्ष रमा प्राशरले आफू २७ वर्षदेखि पोखरामा रहेको र आफू एकल भए पनि बाँकी जीवन पोखरामा नै बिताउन चाहेको बताइन्। उनले भनिन्–‘मेरो नाता पर्ने पोखरामा कोही छैन। बुबाआमा, दाजुभाई, दिदीबहिनी र देश सबै त्यागेर डागरको साथमा पोखरा आएँ्। उहाँले पनि छोडेर जानुभयो।’ डागरकै स्मृतिमा संस्था स्थापना भएको हो। उनले भनिन्–‘संस्था नै मेरो बाँकी जीवनको साथी हो।’
सोही समारोहमा प्रतिष्ठानलाई विभिन्न व्यक्तित्वले आर्थिक सहयोग गरेका थिए। युआरएलका मेनेजिङ डाइरेक्टर ठाकुर पन्तले पाँच हजार पाँच सय ५०, हीरा बास्तोलाले दुई हजार पाँच सय पाँच, जनता टेन्ट हाउसका प्रोप्राइटर प्रदीप गुप्ताले दुई हजार पाँच सय पाँच, समाजसेवी पुष्पा आचार्यले पाँच हजार पाँच, गण्डकी लायन्सका भूतपूर्व अध्यक्षहरूबाट छ हजार र लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष बिन्दु श्रेष्ठले पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका थिए।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष जगदीश गौतम, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम भण्डारी, पूर्व सम्मानित व्यक्तित्व विश्वमोहन गौचन, प्रतिष्ठानका सदस्य कमलप्रजुलगायतले स्वर्गीय डागरको बारेमा चर्चा गरेका थिए।
संस्थाकी उपाध्यक्ष सरिता तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा साहित्यकार असफल गौतमले सम्मानित व्यक्तित्व पौडेलको परिचय प्रस्तुत गरेका थिए। प्रतिष्ठानका अध्यक्ष रमा प्राशरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठले गरेका थिए।
