
पोखरा, माघ २४ । पश्चिमी वायुको प्रभावले यतिबेला देशका पश्चिम र मध्य भेगमा वर्षा भइरहेको छ । तराईको तुलनामा पहाडी भेगमा ठूलो बर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दै गएकाले आज अपराह्नसम्म पूर्वी क्षेत्रमा पनि वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
उच्च पहाडी भागमा भारी हिमपात र वर्षासँगै पहिरो जाने खतरा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सूचना पनि जारी गरेको छ । हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले महाशाखाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरेको छ ।
पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेको हो । तीन दिनसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद्हरुले बताएका छन् । जनवरी महिनामा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । तर यस वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष तीन गुणा बढी पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ ।
तस्वीर : मौसम विभाग
