पश्चिमी वायुको प्रभाव : देशभर वर्षा र हिमपात सुरु, पोखरामा ६ मिलिमिटर वर्षा

Share:

माघ २४,पोखरा । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर वर्षा र हिमपात सुरु भएको छ। जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाका साथै हिमपात हुने सम्भावना रहेको छ। शनिबारबाट पश्चिमी भेगमा सुधार हुने र मध्य तथा पूर्वमा आइतबारबाट खुल्ने जनाइएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार मौसमको यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र बिहीबार बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिए।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ। मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ। शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए।

‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छु’, मौसमविद् पौडेलले भने। महाशाखाका अनुसार पोखराको पछिल्लो न्युनतम तापक्रम १२.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस छ । यस्तै पछिल्लो २४ घन्टामा पोखरामा ६ मिलिमिटर वर्षा भएको महाशाखाले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

मौसम विभागको तीन दिने पूर्वानुमान अनुसार शुक्रबार दिउँसो बिहीबार जस्तै देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानमा वर्षा हुनेछ। केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हिमपातको सम्भावना रहेको छ। शुक्रबार राति भने देशभर सामान्य बदली रहने देखिन्छ। देशभर वर्षा हुने सम्भावना छ। पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ।

यस्तै शनिबार दिउँसो बिहीबार र शुक्रबारजस्तै शनिबार पनि मौसम बदली रहने छ। पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा सामान्य बदलीको सम्भावना छ। शनिबार रातिसमेत मध्य र पूर्व क्षेत्रमा आंशिक बदली हुनेछ भने पश्चिमी क्षेत्रमा सामान्यतया सफा हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: