
पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेकोमा कार्कीलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा पठाइएको छ ।
अब वडा प्रहरी कार्यालय बैदाममा कोमल शाह आउनेछन् । उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पिएसओको रुपमा कार्यरत थिए । शाहको दरबन्दी सुरक्षा सेवा निर्देशनालय हो । डिएसपी कार्कीले एक वर्ष बैदाममा सेवा गरे । उनी गत वर्ष फागुन १४ गते हाजिर भएका हुन् ।
यसैगरी, महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि सो ठाउँमा विनोद घिमिरेलाई पठाइएको छ । घिमिरे जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । त्यस्तै, म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डिएसपी नविन कार्कीः बैदाममा सर्वाधिक रुचाइएका प्रहरी नेतृत्व
काठमाडौँ बाहिरको जिल्लामा कास्कीको पोखरा स्थित पर्यटकीय क्षेत्रको बैदाम प्रहरी चौकीलाई महत्वका साथ हेरिने गरिन्छ । यहाँ सरुवाका लागि चलखेल हुने हल्ला प्रहरी वृत्तमा पनि चल्छ । तर, डिएसपी कार्की कुनै पनि काण्डमा मुछिएनन् । उनलाई इमान्दार र कर्तव्यनिष्ठ प्रहरीका रुपमा स्थानीयले चिन्छन् ।
कास्कीकै सबैभन्दा ब्यस्त वडा प्रहरी कार्यालय, बैदाममा इन्स्पेक्टर नेतृत्व रहेकोमा डिएसपीलाई नेतृत्व दिने निर्णयपछि कार्की नै पहिलो डिएसपी हुन् । उनी कार्यकालको छोटो अवधिमै आफ्नो क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य प्रगति हासिल गरेपछि यसै वर्ष ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित पनि भए ।
डिएसपी कार्कीलाई ‘उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ’ शीर्षकमा उत्कृष्ट ठहर्याइएको हो । कास्कीकै अन्य क्षेत्र भन्दा राति जागा हुने लेकसाईड क्षेत्रमा सबैभन्दा बढी अपराधिक क्रियाकलापको सम्भावना पनि छ । आजमात्रै १४ वर्षका बालक घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । सो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन कायम राख्न उनी दिनरात खटिरहेका छन् । श्रीया सुनार हत्याका अभियुक्त सोहि दिन पक्राउ होस् वा फेवातालमा डुबेकाहरुको उद्धार वा शव निकाल्ने प्रयासमा होस् । कार्कीको तदारुकता प्रशंसा लायक छ । पोखराको लेकसाइड क्षेत्रमा सिसि क्यामेरा राख्न उनको सक्रियता गज्जब थियो ।
बैदाम कार्यालयको नेतृत्व गरेको छोटो अवधिमै डिएसपी कार्कीले उल्लेख्य सफलता हात पारे । हरेक घटनामा आफै अगाडि पुग्ने डिएसपी कार्कीको कामप्रतिको लगनशीलताको कदर गर्दै स्थानीय संघसंस्थाले सम्मान पनि गरिसकेका छन् ।
कार्कीलाई ओम फाउण्डेशन, किराँत सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्रले पनि सम्मान गरेको थियो ।
