गण्डकी सरकारले ७९ लाख बाँड्यो

Share:

विशन क्षेत्री, पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न सहयोगका नाममा मन्त्रिपरिषद् बैठकबाट पारित गराएर ७९ लाख रुपैयाँ बाँड्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकका अनुसार विभिन्न ८ शिर्षकमा उक्त रकम दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानका अनुसार सरकारले नेपाल पत्रकार महासंघको फागुन ९ र १० गते पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशनको लागि २३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । यस्तै, पर्यटकीय क्षेत्र गजेन्द्र मोक्ष धामलाई १० लाख रुपैयाँ, सहारा एकेडेमी, म्याराथुन दौड र गण्डकी बहिरा संघलाई २÷२ लाख, पोखरा थिएटरलाई १५ लाख, दृष्टिविहिन क्रिकेट खेलाडीलाई सम्मान गर्न ५ लाख रुपैयाँ दिने निर्णय गरिएको मन्त्री चुमानले बताए ।

यस्तै, मन्त्रिपरिषदले स्व. प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाग्लुङ २ ‘ख’ का सांसद घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद थिए । कलेजोको रोगबाट ग्रसित घर्तीमगरको गत मंसिर २७ गते उपचारको क्रममा दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

योजना आयोगमा सदस्य थप

प्रदेश नीति तथा योजना आयोगमा महिला सदस्य थप्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकले गरेको छ । निर्णयानुसार योजना आयोगको सदस्यमा डा. भिमा ढुंगाना नियुक्त भएकी हुन् । बाग्लुङको जैमिनी नगरपालिकामा जन्मिएकी ४६ वर्षीय ढुंगानाको विवाह गोरखामा भएको हो ।

विरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा मास्टर्स डिग्री तथा जापानबाट कृषि अर्थशास्त्रमा पिएचडी गरेकी ढुंगानालाई योजना आयोगले अर्थ विज्ञको रुपमा सदस्य नियुक्त गरेको हो ।

ढुंगानाले यसअघि नै युएन वोमनको महिला परामर्शदाता, जाईकाको पुनर्निर्माण र आफैले खोलेको संस्था नेपाल ईन्भाईरोमेन्ट एण्ड सस्टेनेबल एग्रिकल्चर फाउन्डेसनमा काम गर्दै आएकी थिईन् ।

यो सँगै प्रदेशको नीति तथा योजना आयोगले पूर्णता पाएको छ । गत साउन ११ गते आयोगका उपाध्यक्षमा डा. गिरधारी शर्मा नियुक्त भएका थिए । सदस्यमा विष्णुराज बराल यसअघि नै नियुक्त भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: