
पोखरा । पोखराको पृथ्वीचोकमा रहेको लखन थापाको अर्धकदको शालिकलाई हटाएर पूर्ण कदको शालिक राखिएको छ । राति साढे ८ बजेतिरको समयमा तीन दर्जन बढीको संख्यामा आएका समूहले शालिक ठडाएका हुन् । पिकअप भ्यानमा ल्याइएको शालिक क्रेनकै सहायतले राखिएको थियो ।
सो समयमा केहि ट्राफिक प्रहरी र नेपाल प्रहरी मुकदर्शक बनेर बसेका थिए । पोखरा महानगरको मौन स्विकृति नभई यसरी शालिक ठड्याउन नसक्ने प्रत्यक्षदर्शी बताउँछन् । गत वर्ष आइल्याण्ड घटाउने क्रममा पोखरा महानगरपालिकाले शालिक हटाएको थियो ।
मगर लगायतका जातिय समुदायको विरोध र आन्दोलनका कारण त्यहाँ अर्धकदको शालिक राखियो । त्यतिबेला झण्डै १८ लाख रुपैयाँ खर्च भएको थियो । अहिले पुनः पूर्ण कदकै शालिक राखिएको हो । राप्रपा लगायतका दलले भने पृथ्वीनारायण शाहकै शालिक राख्नुपर्ने माग गर्दै आएको छ ।
जनआन्दोलन लगत्तै पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन वाईसिएलले तोडिदिएका थिए । त्यसपछि सो स्थानमा लखन थापाको शालिक राखेर लखनचोक नामाकरण गरियो । तरपनि, हालसम्म पृथ्वीचोकको नाम जनजिब्रोबाट निस्किएको छैन ।
पोखरा महानगरको स्विकृति हो कि बेवास्ता ?
शालिक महानगरले नै राखेको कि ? मगर समुदायले हो ? अहिले सर्वसाधारणमा कौतुहलताको विषय बनेको छ । सम्मानका लागि राखिने शालिक चोकको बीचमा धुलोले ढाकेर राख्ने होइन, स–सम्मान पार्कमा राख्ने हो भन्ने आवाज बुद्धिजीवि वर्गको पनि छ । पोखरा महानगरले कहिले रातारात हटाउने, कहिले रातारात राख्दा मौन स्विकृति कि बेवास्ता ? खुलिसकेको छैन ।
पोखरा महानगरपालिका अहिले नगरक्षेत्रभित्र रहेका सबै चोकका शालिकहरुलाई पार्कमा लगेर सुरक्षित राख्ने अभियानमा छ । तर, अहिले एकाएक शालिकहरु पूरानै ठाउँमा ठड्याईएका छन् । केही समयअघि अमरसिंह चोकमा रहेको अमरसिंह थापाको शालिक पनि पूरानै अवस्थामा ठड्याईएको थियो । जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक भने ठडिएको छैन ।
महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, विरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायतका ठाउँमा आईल्याण्ड घटाएको छ । त्यहाँ रहेका सबै शालिकलाई पार्कमा ब्यवस्थित गर्ने महानगरको योजना भने तुहिएको छ ।
लखन थापालाई नेपालकै प्रथम शहीदको रुपमा सरकारले पनि मान्यता दिईसकेको छ । गोरखा काउले भंगाराका थापाले तत्कालीन राणाशासन विरुद्ध आवाज उठाउँदा शहादत प्राप्त गरेका थिए ।


तस्विरः सुदर्शन रञ्जित
