जिल्ला अदालत स्याङ्जामा १३ सय वर्ष कैद र ८७ लाख जरिवाना भुक्तान बाँकी

Share:

फागुन ९, वालिङ । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना र अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको पाईएको छ । विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलाबमोजिम १३ सय १२ वर्ष ११ महीना १४ दिन कैद र ८७ लाख १५ हजार १८४ रुपैयाँ ५५ पैसा असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको हो ।

“अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लागत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेका छौँ”, श्रेष्तेदार आचार्यले भने ।

अदालतले कैद तथा जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महीना रु १५० का दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: