
फागुन ९, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जीप दुर्घटना चालकको लापरवाहीका कारण भएको पाइएको छ । ४ जनाको ज्यान जानेगरी भएको सो दुर्घटना अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण भएको प्रहरीको अनुमान छ ।
ध १ ज ७९१ नं को जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा सामान्य घाइते भएका चालक प्रवीण पुन प्रहरी नियन्त्रणमा छन् । उनीमाथि थप सोधपुछ भइरहेको छ । बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार चालक १८ वर्षीय पुनसँग चालक अनुमतिपत्र (लाइसेन्स) समेत नभएको बुझिएको छ ।
जिपमा स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्कँदै गरेका विद्यार्थी, अभिभावक सवार थिए । २० यात्रु बोकेको जीप सडकदेखि करीब ७०० मिटर तल खसेको थियो । चालकको अपरिपक्वता र लापरवाहीका साथै भीरको सडक र बढी लो नै दुर्घटनाको मुख्य कारण रहेको रेग्मीको भनाइ छ ।
साथै यात्रुले पनि सजगता नअपनाएको र साँझको समय घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ । चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ । दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो ।
