
फागुन ११, तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षको अवधिमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा आजदेखि शुरु भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालन भएकाले काममा ढिलाइ भए पनि यसबीचमा विकासको जग तयार गर्नसफल भएको बताए ।
उनले विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै अबका वर्षमा विकासले गति लिने विश्वास दिलाए । कानून निर्माणमा ढिलाइ भएकाले प्रदेश सरकारले सोचेजति काम गर्न नसके पनि आशालाग्दा काम सरकारले शुरु गरेको मुख्यमन्त्री गुरुङको भनाई थियो । अबका चार वर्षभित्र प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने खालका विकासका काम सञ्चालन हुने जानकारी गराए ।
उनले शिक्षामा निजी क्षेत्रको प्रवेशले शिक्षा नै विभाजित भएकाले शिक्षामा भएको असमानता र विभेद हटाउन आवश्यक रहेको बताए । नेपालका शैक्षिक सङ्घसंस्था बेरोजगार उत्पादन गर्ने केन्द्र बनेकाले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए।
कार्यक्रममा प्रदेशसभा सदस्य आशा कोइराला, रोशन गाहामगर, डोवाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेललगायतले सामुदायिक विद्यालयको उन्नतिका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
