
बागलुङ, फागुन १३ । बागलुङको गलकोट नगरपालिका–३ मा चालू आवका लागि ४२ योजना स्वीकृत भएका छन् । तीमध्ये तीस योजनाको सम्झौता हुनाका साथै १४ सम्पन्न पनि भइसकेका छन् । वडा कार्यालयहरूले योजनाको कामलाई गति दिएका छन् ।
चैतभित्र सबै योजना सम्पन्न गरिने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । वडा कार्यालयले आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने परिपाटी अन्त्य गर्न चाहेको उनको भनाइ छ । चैतभित्रै योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।
साना योजनादेखि दीर्घकालीन महत्वका योजना पनि उक्त वडामा परेका छन् । नगरसभाले गौरवका योजनामा वडा नं ३ मा छाँगावरोहण (क्यानोनिङ) लाई पारेको छ । सहस्रधारामा रहेको झरनामा छाँगावरोहण सञ्चालनका लागि पूर्वाधार विकासको काम गरिने भएको छ ।
हटिया बजारमा सौर्यबत्ती राख्ने, नाङ्गो तार हटाउनेलगायत योजना पनि वडा कार्यालयले अघि सारेको छ । बढ्दो बजारीकरणसँगै ‘पार्किङ’ व्यवस्थापनको चुनौती थपिएको छ ।
‘गलकोटमा बसपार्क छैन, पार्किङ अस्तव्यस्त छ’, वडाध्यक्ष भण्डारीले भने, ‘बसपार्कको योजना नगरपालिकाकै प्राथमिकतामा छ, वडाबाट पनि पहल हुन्छ।’ नगरपालिकाका अनुसार तत्काल बसपार्क निर्माणका लागि जग्गाको अभाव भएकाले अस्थायी रुपमा भए पनि बसपार्क राख्न जग्गाको खोजी भइरहेको छ । मध्यपहाडी लोकमार्गमा सवारीसाधनको चाप बढेसँगै बसपार्क आवश्यकता खड्केको हो ।
वडा नं ३ भित्रका ४० वर्ष काटेका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच सेवा पनि उपलब्ध गराउने तयारी भइरहेको छ । हटिया स्वास्थ्यचौकीसँगको सहकार्यमा चिनी, उच्च रक्तचापलगायत रोगको निःशुल्क जाँच हुँदै आएको छ । भौतिक पूर्वाधारसँगै सामाजिक विकास र सामाजिक सुरक्षाका क्षेत्रमा वडाका योजना केन्द्रित छन् ।
FILE PHOTO
