
रञ्जन अधिकारी पोखरा, १९ भदौ / मानवीय सेवामा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाईटी, कास्की शाखा ५० औं वर्षमा प्रवेश गरेको छ । सोसाईटीले २०७२ भदौ १९ सम्म विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउने भएको छ । विहीबार एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वर्ण जयन्ती वर्ष शुभारम्भ गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले ५० वर्ष पूरा गरी परिपक्व बनेको सोसाईटीले विपद्का क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले सोसाईटीले दायरा फराकिलो पार्दै सबैको साझा संस्थाका रुपमा यसरी नै काम गरिरनुपर्नेमा जोड दिए । दुई घण्टा ढिलो गरी कार्यक्रममा उपस्थित भएका मन्त्री अधिकारी दुई मिनेटमै आफ्नो भनाई सकेर काठमाण्डौं फर्किएका हुन् ।
विशेष अतिथि रेडक्रसका केन्द्रिय उपमहामन्त्री सुदर्शन नेपालले कास्की शाखा क्रियाशीलताका हिसाबले मुलुककै उत्कृष्ट रहेको जनाए । ‘स्वर्ण जयन्ती वर्ष प्रारम्भ गरेको यस सोसाईटीले यो वर्षमा गर्ने गतिविधिले झनै उत्कृष्ट बनाउनेछ ।’ नेपालले भने ‘कास्की शाखाबाट धेरैले सिक्नुपर्नेछ । अरु जिल्लालाई यसले सिकाउनुपर्नेछ ।’
उनले सरकारले रक्तसञ्चार नीति ल्याएकोमा खुशी व्यक्त गर्दै तर यसको नियमनमा विचारणीय ढंगले अघि बढ्न सुझाव दिए । ‘यो सकारात्मक छ । नियमन हुनु जरुरी छ । ब्लड बैंकलाई जसले पनि सञ्चालन गर्ने अनुमति पायो भने खरीद विक्रीमा त जाँदैन ?’ उनले थपे – ‘भएको व्यवस्थालाई नखल्बलाई अघि बढ्नुपर्छ । बेथिति, दुरुपयोग हुन नदिई सेवामा स्तरीयता कायम गर्न जरुरी छ ।’
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले सबै जातजाति, धर्मावलम्बी, भाषाभाषीको साझा संस्था रेडक्रस भएकाले यसले सबैको बिपद्मा भेदभाव नगरी अघि बढेकोमा खुशी व्यक्त गरे । संस्थाका निवर्तमान सभापति रामप्रसाद ज्ञवालीले जहाँ दुःख त्यहाँ रेडक्रस, जहाँ विपद् त्यहाँ रेडक्रस भावनाका साथ अघि बढिरहेको उल्लेख गर्दै निःस्वार्थ मानवीय सेवामा समर्पित भएको जनाए ।
संस्थाका सभापति बामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति डोलराज पाण्डे तथा संचालन मन्त्री कृष्ण तिमिल्सिनाले गरेका थिए ।
स्वर्ण जयन्ती मनाउने क्रममा रेडक्रस कास्कीले सभापति ढुंगानाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको थियो। संयोजक ढुंगानाले मानवीय विपत्तिबाट प्रभावितहरुका लागि सहयोग पु¥याउन जिल्ला स्तरीय राहत कोषलाई वृद्धि गर्दै हरेक उपशाखामा विपद् राहत कोषको स्थापना सँगै सेवा कार्यको प्रभावकारीतामा जोड दिईने बताए । स्वर्ण वर्षभर जुनियर तथा युवारेडक्रस विकास कार्यक्रम अन्तर्गत विभिन्न स्तरका गोष्ठी, भेला, प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने ढुंगानाले बताए ।
उनका अनुसार विपद्बाट प्रभावित भएका व्यक्तिहरुलाई सर्वसुलभ एम्बुलेन्स सेवा प्रदान, रक्तदान शिक्षा कार्यक्रम, विभिन्न स्वास्थ्य शिविर, संस्थाको अभियानमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान, ¥याली तथा प्रभातफेरि कार्यक्रम गरिनेछ । अन्त्यमा वर्ष भरिका गतिविधिको संकलन गरी स्मारिका प्रकाशन र ५० औं वर्षको स्मरण हुने किसिमले स्तम्भ निर्माण गर्ने योजना सोसाईटीको छ ।विपद् तथा संकट व्यवस्थापन मुख्य प्राथमिकता रहेको रेडक्रसको स्थापना नेपालमा २०२० भदौ १९ गते भएको थियो भने कास्कीमा त्यसको दुई वर्ष पछि शाखा गठन भएको हो । कास्कीमा सोसाईटीका ५५ उपशाखाहरु गठन भईसको छन् भने करीब आठ हजार आजीवन तथा साधारण सदस्यहरु छन् । जिल्लामा १५८ विद्यालयमा गठित जुनियर रेडक्रस सकंलका करीब ५० हजार सदस्य छन् । यस्तै, ५१ वटा युवा सर्ककलका १० हजार सदस्यहरु क्रियाशील छन् ।
