
रेम बिक
पोखरा, १८ फागुन । नेपाली फिल्म ‘जानी नजानी’ यूनिट प्रचारको क्रममा पोखरा आईपुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको यो फिल्मको यूनिटले दर्शकलाई फिल्म हेरिदिन आग्रह ग¥यो ।
‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केहि सन्देश पनि प्राप्त गर्नुहुनेछ । र, केहि फरक अनुभूती पनि दर्शकले गर्न सक्नुहुनेछ ।’ पत्रकार सम्मेलनमा फिल्मका अभिनेता मनिष श्रेष्ठले भने । यो फिल्म नेपाली स्वादको भएको उनले दाबी गरे ।
विशेषगरि युवापुस्तालाई अरुको देखासिकि गर्नुभन्दा पनि आफ्नै शैलीको केहि नयाँ काम गर्न फिल्मले सिकाउने उनले बताए । ‘यो फिल्म हेर्दा प्रत्येक दर्शकले त्यहाँको चरित्रसँग आफूलाई दाँज्न सक्नुहुन्छ । र, यहि कुरा नै फिल्मको सफलता हो भन्ने मलाई लाग्छ ।’ श्रेष्ठ विश्वस्त देखिए ।
घाटामा गएको पुख्र्यौली ढाका उद्योगलाई एउटा युवा जोश र जाँगरले कसरी पुर्नस्थापित गराउन सक्छ ? भन्ने मुल कथा यो फिल्मले पस्केको छ । त्यसो त यो फिल्मले पारिवारीक सम्बन्ध र प्रेम सम्बन्धको कुरालाई पनि प्रस्ट्याउन खोजेको छ । फिल्मको ट्रेलरलाई पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिईरहेका छन् ।
त्यस्तै अभिनेत्री निरिषा बस्नेतले फिल्मको ‘कन्टेन्ट’ मन परेरै आफूले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेको बताईन् । बलिउडमा समेत काम गरिसकेकी निरिषाले यो फिल्म हेर्दा कसैलाई घाटा नहुने दाबी गरिन् । ‘यस्ता फिल्महरु निकै कम बन्छन् । जसले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व कसरी वहन गर्ने भन्ने विषयमा दर्शकसँग साक्षात्कार गर्छन् ।’ उनले भनिन्–‘यो निकै गज्जब विषयमा बनेकोले पनि दर्शकलाई नयाँ स्वाद हुन सक्छ ।’
निरिषाले बलिउडमा रहेर स्टार प्लस च्यानलबाट आउने ‘चन्द्रनन्दिनी’ नामक टेलिसिरियलमा मूख्य अभिनेत्रीको रुपमा काम गरिसकेकी छन् । त्यस्तै अभिनेता मनिष श्रेष्ठको यो चौथो फिल्म हो । उनीहरुसँगै यो फिल्ममा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगाएतले अभिनय गरेका छन् ।
फिल्म ‘जानी नजानी’ चैत १ गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सागरकाजी माली र मोदनाथ खनालले निर्माण गरेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।

