रेम बिक पोखरा, १९ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिएका दुई जना व्यवसायी संस्थागत भन्दा पनि व्यक्तिगत प्रचारमा बढि उत्रिएका छन् । संचारमाध्यममा आएका विभिन्न अभिव्यक्तिले उनीहरु व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको देखिन्छ । संस्थागत कुरालाई अगाडि ल्याएर चुनावमा होमिनुपर्नेमा व्यक्तिगत रिसिईबिलाई अगाडि सारेर चुनावमा आएका यी दुई प्रतिस्पर्धी उम्मेदवारको शैली अन्य व्यवसायीहरुले पनि मन पराएका छैनन् ।
चुनावमा संस्थाको कुरा बढि आउनुपर्नेमा उम्मेदवारहरुको घरायशी कुराले बढि प्रश्रय पाएको अन्य व्यवसायीहरुको गुनासो छ । नाताले ज्वाँई–जेठान पर्ने संजीवबहादुर कोईराला र विन्दुकुमार थापाबिचको जुँगा युद्ध मिडियामार्फत सतहमा आएपछि अन्य व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको यसअघिको चुनावमा पनि यी दुई ज्वाँई जेठान प्रतिस्पर्धी थिए । तत्कालिन समयमा सहमति गरेको कुरा मिडियामा प्रचारमा ल्याई अन्तिम समयमा आएर विन्दुकुमार थापाले चुनावी मैदान छाडेका थिए ।
अहिले आएर पुनः एक अर्काका प्रतिस्पर्धी बनेका ज्वाँई जेठान त्यहि बेला गरेको सहमतीपत्रकै कारण एक अर्कामा आरोप प्रत्यारोप गरिरहेका छन् । संस्थागत देखि व्यक्तिगत लाञ्छना समेत एकअर्कालाई लगाउँदै आएका छन् । व्यक्तिगत रुपमा जुँगाको लडाईमा उत्रिएपछि अन्य व्यवसायीहरु तनावमा छन् । ‘अघिल्लो पटकको सहमतीकै कारण मैले यो पटक अध्यक्षको लागि उम्मेदवारी दिएको हुँ, तर मलाई संजीवबहादुर कोईरालाले कपटपूर्ण खेल खेलेर धोका दिए ।’ वाणिज्य संघका अध्यक्ष उम्मेदवार विन्दुकुमार थापाले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भनेका छन्–‘म उपाध्यक्ष हुँदा तत्कालिन समयमा महासचिवलाई अध्यक्षको लागि मैले छाडिदिएको थिएँ तर अहिले उनी उल्टै म माथि खनिए ।’ संस्थामा नयाँ नेतृत्व आउनुपर्छ भन्दै उनले संजीवले सहमती नमानेर पुनः अध्यक्षको लागि उम्मेदवारी दिनु अपराजित मानिसकताको उपज भएको बताए ।
यता लगत्तै संजीवबहादुर कोईरालाले पनि पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा उपाध्यक्ष भएपनि विन्दुकुमार थापाले असहयोग गरेका कारण पुनः उम्मेदवारी दिएको बताए । ‘मैले उपाध्यक्षको निकै असहयोग गर्दा पनि आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको छु ।’ उनले भने–‘त्यसैले मलाई व्यवसायी साथीहरुले विधानमा मिल्ने भए पाँचाँै पटकसम्म अध्यक्ष बनाउन चाहिरहेका छन् ।’ अघिल्लो कार्यकालमा विन्दुकुमार थापाबाट हरेक काममा असहयोग मात्रै पाएको उनले सुनाए ।
दुवैले गरेको छुट्टाछुट्टै पत्रकार सम्मेलनमा आफ्नो जितको सुनिश्चितता दाबी गरेका उम्मेदवारहरुले चुनावी नारा भन्दा पनि व्यक्तिगत रुपमा अर्काको दोष बढि देखाए । उनीहरु दुवैले एकअर्कालाई व्यवसायीहरुलाई भोज खुवाएर मत मागेको आरोप लगाए । यद्यपी दुवैले आफुले भोज खुवाउने काम भने नगरेको दाबी गरे । पत्रकार सम्मेलनमा आफ्ना प्यानलका कुनै उम्मेदवारहरुलाई बोल्न दिईएको थिएन । पोखरा उद्योग वाणिज्य संघका अघिल्ला अध्यक्षहरुको सामुहिक हस्ताक्षरसहितको प्रेस विज्ञप्तीको सवालमा पनि संजीवबहादुर कोईरालाले विन्दुकुमारलाई आरोप लगाए । उनले झुक्याएर अघिल्ला सातजना अध्यक्षको सँयुक्त हस्ताक्षरसहितको प्रेस विज्ञप्ती विन्दुकुमारले मिडियामा ल्याएको बताए । यद्यपी आफ्नो पक्षमा आएको तीन अध्यक्षको सँयुक्त प्रेस विज्ञप्ती स्वतस्फुर्त रुपमा आएको उनले बताए । यता विन्दुकुमार थापाले भने आफुलाई संघका अघिल्ला अध्यक्षहरुको आर्शिवाद रहेको सुनाए ।
पोखरा उद्योग वाणिज्य संघको ३० औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । अघिल्लोपटककै अध्यक्षका प्रत्याशिहरुले यो पटकपनि उम्मेदवारी दिएका कारण बजारमा विभिन्न खाले आँकलनहरु भैरहेका छन् । प्रतिस्पर्धीहरु स्वच्छ रुपमा भन्दा पनि आरोपप्रत्यारोपपूर्ण प्रतिस्पर्धा गरिरहेका छन् ।
