म्याग्दीमा निजी आवास पुनःनिर्माण सुस्त, चासो नदिँदा सङ्घीय मन्त्रीको घर पनि बनेन

Share:

म्याग्दी, १९ फागुन । म्याग्दीमा निजी आवास पुनःनिर्माणको गस्ती सुस्त भएको छ। भूकम्प गएको तीन वर्ष वितिसक्दासमेत आवास पुनःनिर्माणका लागि अनुदान लगेका भूकम्पपीडितले बेवास्ता गरेकाले निर्माणको गति सुस्त भएको हो ।

भूकम्पपीडित बनी आवास पुनःनिर्माणका लागि अनुदान लगेर पुनःनिर्माणमा बेवास्ता गर्नेहरूमा वर्तमान सरकारकै मन्त्रीदेखि दलका स्थानीय नेता तथा कार्यकर्तासम्म छन् ।

भूकम्पबाट क्षति पुगेको घर पुनःनिर्माणका लागि पहिलो किस्ता लिएकी सङ्घीय सरकारकोे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समेत पुनःनिर्माणमा चासो नदिँदा आवास पुनःनिर्माणको कार्यक्रम प्रभावित भएको हो ।

पूर्ण क्षतिको सूचीमा रहेको उनको घर भूकम्पपछि सामान्यमर्मत गरिए पनि अहिलेसम्म पुनःनिर्माण गरिएको छैन । दुईतले कच्ची घर अहिले मर्मतपछि भाडामा लगाइएको छ ।

आवास पुनःनिर्माणका लागि पहिलो किस्तावापतको रकम मन्त्री थापाले लिए पनि दोस्रो किस्ता लिन नगएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । उनको निजी सचिवालयका अनुसार मन्त्रालयको कामले व्यस्त हुनुपरेकाले घर पुनःनिर्माणमा ढिलाइ भएको हो ।

आयोजनाले आवास पुनःनिर्माणका लागि अनुदान लिएर निजी आवास पुनःनिर्माण नगरेकालाई पुस मसान्तभित्र अनुदान फिर्ता गर्न ताकेता गरेको थियो । जिल्लामा पहिचान भएका ८६८ भूकम्पपीडितमध्ये ७८४ ले मात्रै निर्धारित समयमा सम्झौता गरी रु ५० हजारका दरले प्रथम किस्ता अनुदान लिएका थिए ।

पहिलो किस्ता अनुदान लिएका करीब एक तिहाइले पुनःनिर्माण नगरिकन बसकाले समस्या भएको आयोजना प्रमुख शिवराम गेलालले बताए । जिल्लामा पहिलो किस्ता लिएकामध्ये २८७ ले मात्रै दोस्रो र आवास पुनःनिर्माण सकेर १६५ले तेस्रो किस्ताको अनुदान लगेका छन् ।

पहिलो किस्ता लगेका ४९७ जना गुपचुप बसेका छन् । पहिलो चरणमा पुस मसान्तसम्म आवास पुनःनिर्माण शुरु नगरेकालाई आफूले लगेको अनुदान फिर्ता गर्न ताकेता गरिए पनि अहिलेसम्म कसैले पनि फिर्ता नगरेको कार्यालयले जनाएको छ ।

आयोजनाले पूर्ण क्षति भएका पीडितलाई रु तीन लाख र आंशिक क्षति भएर प्रवलीकरण गर्नुपर्नेलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: