पोखराका सन्दिप तिवारी एन्फाको नयाँ लोगो बनाउने मध्ये उत्कृष्ट, ५७० लाई पछि पार्दै जिते ५० हजार

Share:

रञ्जन अधिकारी, पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो सार्वजनिक गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको नयाँ लोगो पोखराका सन्दिप तिवारीले तयार पारेका हुन् । अन्य पाँच सय ७० लोगोमध्ये उत्कृष्ट ठहरिएको लोगो डिजाइनकर्ता सन्दिपलाई ५० हजार नगदका साथ पुरस्कृत गरियो ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यस अघि बिस २०६२–६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । तिवारीले आफ्नो डिजाइन उत्कृष्ट बन्दा खुशी लागेको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्यौपाने लगायतले लोगो सार्वजनिक गरे ।

सो अवसरमा रातो र निलो कलरको राष्ट्रिय जर्सी, फुटबल गीत पनि सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: