
चैत १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भई स्वदेश फर्केकी छन्।
राष्ट्रपति भण्डारी संयुक्त राष्ट्र संघको महिलाको अवस्थाको परिषदद्वारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई आइतबार अपरान्ह स्वदेश फर्किएकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायत उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए। त्यसै अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामीसमेत अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले अमेरिका बसाइका क्रममा संयुक्त राष्ट्र संघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्। कार्यक्रममा नेपालले महिला अधिकार, लैगिक समानतालगायतका मानव अधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरू अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत गरेर राष्ट्रपति भण्डारीले देशको छवीलाई झनै उचो बनाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।
राष्ट्रपति भण्डारीले अमेरिका बसाइको क्रममा महिलाको क्षमतामा नजरअन्दाज गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गरेर महिलाहरूको सशक्तिकरणको अभियानलाई सफल बनाउन सकिने धारणा पनि राखेकी थिइन्।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघका महासचिव एन्टानियो गुटरेज, राष्ट्र संघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनिया र क्रोयसियाका समकक्षी क्रमश: केरष्टि कलजुलैड र कोलिन्डा ग्राबरसँग पनि भेटवार्ता गरेकी थिइन्।
