काठमाडौ, २४ भाद्र / प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुअघि नै राष्ट्रिय राजनीतिक सभा गर्ने पक्षमा देखिनुभएको छ । यसबारेमा प्रधानमन्त्री कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले विहान प्रचण्डलाई आफ्नै निवासमा बोलाएर यहि भदौको अन्तिमसम्ममा राष्ट्रिय राजनीतिक सभा गर्ने प्रस्ताव गर्नुभएको हो ।उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा नियमित उपचार पनि गराउनुपर्ने भएकाले दुई हप्ता आफू अमेरिकामा रहने भन्दै त्यसअघि नै सभा गर्नका लागि सहमत हुन आग्रह गर्नुभयो । उहाँले जिल्ला दौडाहाका क्रममा डडेल्धुरामा रहेका नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि राष्ट्रिय राजनीतिक सभाको मितिबारे टेलिफोनमा छलफल गर्नुभएको छ ।
कोइराला र दाहालबीच अवरुद्ध संसद खुलाउने विषयमा छलफल भएको छ । त्यसक्रममा कोइरालाले दाहाललाई आफू ‘अप्ठ्यारो’ मा परेकाले सहयोग गर्न आग्रह गरेको स्रोतले बतायो । उनले विगतका सहमति कार्यान्वयन गरी संसद सुचारु गर्न आफू तयार भए पनि सत्तारुढ दलभित्र कुरा नमिलेको बताए ।
‘सहमति कार्यान्वयनबारे सत्तारुढ दलभित्र यसबारे कुरा मिलेको छैन । संसद सुचारु गर्ने विषयमा म तयार छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै एमाओवादी स्रोतले भन्यो, ‘यसबारे म छलफल अघि बढाउछु ।’ दाहालले प्रतिपक्ष दलको कुनै ठूलो माग नभएको उल्लेख गर्दै प्रमुख दलका नेताले हस्ताक्षर गरको उच्चस्तरीय राजनीतिक समिति बनाउने चार बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । कांग्रेस, एमालेबीच चार बुदे सहमति कार्यान्वयन गर्ने विषयमा एकमत नभएकाले राजनीतिक समिति गठनमा समस्या आएको प्रधानमन्त्रीको भनाइ थियो ।
दाहालले नेपाली काग्रेस र नेकपा एमाले विगतका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् । उनले कांग्रेस र एमाले १२
उनले देश दुर्घटनामा जान लागेको भन्दै संविधान बन्ने ग्यारेन्टी गरेर देशलाई दुर्घटनाबाट जोगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । दाहालले प्रधानमन्त्री कोइरालाई अझै पनि दलहरुबीच दूरी बढाउदै लगे मुलुक दूर्घटनामा जाने भएकाले छिटो सहमतिको वातावरण बनाउन आग्रह गरेका थिए । ‘छिटो सहमतिका लागि वातावरण बनाउन अध्यक्षले आग्रह गर्नुभयो,’ एमाओवादी केन्दि्रय सदस्यसमेत रहेका दाहालका स्वकीय सचिब चूडामणि खडाले भने, ‘प्रधानमन्त्रीले सहमतिका लागि पहल गर्ने वचन दिनुभएको छ ।’
दाहालले कोइराला उपचारका लागि अमेरिका जानुअघि सहमति आवश्यक भएको उल्लेख गर्दै सरकारको तर्फबाट पहल गर्न आग्रह गरे । ‘अब पनि सहमति हुन सकेन भने मुलुक दूर्घटनामा जान्छ, यसबाट प्रतिगामीहरुलाई फाइदा पुग्छ,’ उनको भनाइ थियो, ‘त्यसकारण प्रमुख दलबीच सहमति हुनु आवश्यक छ ।’ दाहालले संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोग, लोकसेवालगायतमा नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले भने-मोहन वैद्य मेरा नजिकका साथी, नेकपा माओवादीको समेत समर्थनमा माघ ८ मै संविधान
प्रधानमन्त्री सुशील कोइरालाले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको समेत समर्थन र सहभागितामा आगामी माघ ८ मै संविधान जारी हुने दावी गरेका छन् । वीपी विचार पदयात्राको मंगलबार सुन्दरीजलस्थित वीपी संग्राहलयमा समापन गर्दै कोइरालाले वैद्य आफ्नो नजिकको साथी भएको भन्दै उनको समेत सहमतिमा संविधान जारी हुने बताए ।
कोइरालाले भने-‘वैद्यजी मेरो नजिकको मित्र हुन्, आज पनि उनीसँग टेलिफोन वार्ता भएको छ र चाँडै राजनीतिक सम्मेलन गर्नका लागि आउनुस् भनेको छु ।’ वैद्य पार्टी कार्यक्रमका सिलसिलामा डडेलधुरामा छन् । कोइरालाले वैद्यलाई टेलिफान गेरेर सहमति गर्न चाँडो काठमाडौं फर्किन आग्रह गरेको बताए । कोइरालाले सबैलाई बराबरी हैसियत र सम्मान दिएरै नयाँ संविधान जारी गर्नुपर्ने बताए ।
समापन कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले वीपीका अनुयायीले उनको बाटो पछ्याउनुपर्ने भन्दै समयमा संविधान जारी गरेर मात्र उनीप्रति सच्चा सम्मान हुने बताए । पार्टी उपसभापति रामचन्द्र पौडेलले कांग्रेसजनले नैतिक मूल्य र मान्यताको राजनीति गरेर वीपीप्रति सम्मान व्यक्त गर्नुपर्ने बताए । उनले जोड घटाउको राजनीति भन्दा सहमति र सहकार्य अहिलको आवश्कता रहेको उल्लेख गरे ।
कार्यक्रममा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला लगायतका नेताहरुले मन्तव्य राखेका थिए । वीपीको जन्म जयन्तीका अवसरमा राष्ट्रपति रामवरण यादवपनि मंगलबार बिहान सुन्दरीजल पुगेका थिए ।
संविधान जारी हुनेमा शंका नगर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक संविधान जारी हुनेमा आशंका नर्गन आग्रह गरेका छन् । राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निर्मित वीपी कोइरालाको शालिक अनावरण तथा लायन्स नेत्र अध्ययन केन्द्रको वार्षिकोत्सव कार्यक्रममा मंगलबार बोल्दै प्रधानमन्त्री कोइरालाले घोषित मितिमै संविधान जारी हुने र उक्त संविधान पूर्ण रुपमा लोकतान्त्रिक हुने बताए ।
लोकतन्त्रमा विश्वास नराख्ने शक्ति नै संविधान लेखन कार्यमा समावेश भइसकेकाले सबैलाई मान्य हुने संविधान आउने उनको भनाइ थियो । कांग्रेसले वीपी कोइरालालाई बिस्र्यो भन्ने आरोपको खन्डन गर्दै प्रधानमन्त्रीले कांग्रेसले वीपी कोइरालाकै बाटो अवलम्बन गरेको बताए ।लोकतन्त्र र स्थायित्वका लागि कसैसँग सम्झौता नगर्ने दृढता पनि उनले व्यक्त गरे ।
