होलीमा सुरक्षा कडा, ठाउँठाउँमा चेकिङ, जबरजस्ती लोला हाने १०० मा फोन गर्नुस् !

Share:

पोखरा । बुधवार मनाइने होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ ।

होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने कास्की प्रहरीले जनाएको छ । अन्य दिनको तुलनामा भोलि बाक्लो मात्रामा प्रहरी परिचालन पनि गरिनेछ भने ठाउँठाउँमा मापसे र कागजपत्र चेकजाँच गरिने जनाइएको छ ।  होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि प्रहरीले जनाएको छ ।

काठमाण्डौमा पनि सुरक्षा व्यवस्था कडा बनाईने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । ‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एसएसपी लामाले भने, ‘प्रहरी तत्काल घटनास्थल पुग्छ, हामी पक्राउ गरेर कारवाही गर्छौं ।’ होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ ।

होलीको बाहना बनाएर सडकमा हिँड्डूल गर्ने युवा युवतीहरुलाई जवरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

उनले भने, ‘यदि कसैले दोस्रो पटक जवरजस्ती लोला हान्ने हर्कत गर्दैन र अभिभावकले प्रहरीलाई आस्वस्त बनाउँछन् भने एकपटकलाई छाड्छौं अन्यथा कानुनी कारवाही हुन्छ ।’ काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ ।

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: