
पोखरा । केहि दिन अगाडि मात्रै हो, प्रहरी र बिप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ भन्ने खबर आएको । र, नेपाल प्रहरीले पनि यो कुरालाई पुष्टी गर्दै जवाफी कारबाहीमा आफूहरुले फायरिङ गर्नुपरेको बताएको थियो ।
तर नेकपा बिप्लव समूहले भने प्रहरीले बकवास कुरा गरेर निहत्था आफ्ना कार्यकर्तालाई झूठो आरोप लगाएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी मध्य केन्द्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले ‘बकवास’ गरेको बताएका छन् ।
विप्लव समूहले काभ्रेमा आफुहरुले कुनै गोलीकाण्ड नगरेको प्रस्ट पारेको छ ।
यसअघि ५ चैतमा साँझ काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको थियो । घटनामा शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भए पनि अन्य भागेको प्रहरीले बताएको थियो ।
विज्ञप्तिमा हालको सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

