
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ पूर्वाधार तयार पार्न लागिएको वडाध्यक्ष गोविन्द पौडेलले बताए । सो कार्यका लागि सुर्केमेलामा रू १० लाख, सिंगाको कुना तालका लागि रू नौ लाख, ठूलोखोलाका लागि रू तीन लाख र तातोपानीका लागि रू पाँच लाख विनियोजन गरिएको छ ।
सुर्केमेलास्थित म्याग्दी नदी किनारमा पानी सङ्कलनका लागि इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर पनि निर्माण गरिएको छ । कुनातालमा केही दिनमै इनार खन्न शुरु गरिने उपभोक्ता समितिले जनाएको छ । बास्कुनामा पाँच वर्षदेखि अधुरो बनेको तीन हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ ।
सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाइ सुविधाका लागि २०७१ मा पोखरी निर्माण शुरु भएको थियो । नगरपालिकाबाट पाँच लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु पाँच लाख विनियोजन भएपछि ती योजनालाई पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भीम थापाले जानकारी दिए ।
पोखरी निर्माणमा स्थानीयवासी लालबहादुर केसीले रु पाँच लाख सहयोग गरेका छन्। पाँच वर्षअघि बेनी नगरपालिकाको रू पाँच लाख, वन कार्यालयको रू ४५ हजार, भू–संरक्षण कार्यालयको रू ५० हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको रू ५० हजारसहित अन्य निकालयको रू १२ लाख सहयोगमा पोखरी खनिएको थियो ।
सत्र मिटर लम्बाइ, आठ मिटर चौडाइ र दुई मिटर गहिराइ भएको सो पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ । अबको एक महीनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने बताईएको छ ।
File Photo
