कृषिमा लगानी बढाउँदै गाउँपालिका

Share:

बागलुङ । कृषिमा आत्भनिर्भर बन्ने लक्ष्यसहित बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो ।

योजना लागू गर्न गाउँसभाले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्टाएको छ । सोही बजेटबाट व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारी वा फार्मलाई सशर्त अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

ठूलो परिमाणमा उत्पादन नगरेसम्म कृषि क्षेत्र व्यावसायिक बन्न नसक्ने उनको भनाइ छ । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार अनुदान रकम उपलब्ध हुनेछ । अनुदान पाउन कम्तीमा आधा हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि गर्नुपर्ने प्रावधान छ ।

पशुपालनतर्फ कम्तीमा २० भैँसी वा २५ गाई वा १०० बाख्रा ५०० कुखुरा पाल्नेले अनुदान पाउने छन् । गाउँपालिकाका अध्यक्षको नेतृत्वमा रहेको समितिले गरेको अध्ययन र सिफारिसपछि अनुदानको प्रक्रिया अघि बढाउने छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार गाउँपालिकाका १० वटै वडा समेट्ने गरी योजना छनोट गर्ने तयारी गरिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना निकालेर व्यक्ति, समूह, सहकारी र फार्मबाट आवेदन माग गरेको छ ।

योजनाको कूल लागतमध्ये गाउँपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउनेछ भने बाँकी २५ प्रतिशत सम्बन्धित व्यक्ति, समूह, सहकारी र फार्मले लगानी गर्नेछन् । अनुदान र लगानीको सुरक्षाका लागि लालपुर्जा जमानतमा राख्ने सोचमा गाउँपालिका छ ।

गाउँपालिकाले नीति तथा बजेटमै कृषि क्षेत्रलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ । बडिगाडमा व्यावसायिक तरकारी, फलफूल, खाद्यान्न बालीका साथै पशुपालनको प्रशस्त सम्भावना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: