पोखरा स्टिल फेब्रिकेट्स एशोसियसनको साधारणसभा, लोडसेडिङ, जनशक्ति अभाव र अस्वस्थ प्रतिष्पर्धाले व्यवसाय अव्यवस्थितः कटवाल

Share:

रञ्जन अधिकारी पोखरा, २८ भदौ / पोखरा स्टिल फेब्रिकेट्स एशोसियसनको १४ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटवालले लोडसेडिङ, जनशक्ति अभाव र अस्वस्थ प्रतिष्पर्धाले व्यवसाय अव्यवस्थि तबनेको बताए ।

‘यो व्यवसाय निकै सम्मानित व्यवसाय हो । तर पढेका मानिसहरु यो व्यवसायमा आउन चाहँदैनन् । न त हामी व्यवसायी नै आफ्ना छोराछोरी ग्रील, मेटल व्यवसायी बनेको हेर्न चाहन्छौं।’ उनले भने– ‘सरकारले पनि यो व्यवसायलाई उपेक्षा गरेको छ ।’ उनले व्यवसायलाई समयसापेक्ष परिमार्जित र परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै यो व्यवसायलाई स्वस्थ बनाउन व्यवसायीलाई आग्रह गरे । ‘सरकारले तयार पारेको मूल्य सूचिअनुसार नै हामी चलेका छैनौं । यस्तो अस्वस्थ प्रतिष्पर्धा नगरौं ।’ उनले भने ‘सरकारी पिएन पदमा ५ सय को ठाउँमा ५० हजार आवेदन आउँछ । हामी निःशुल्क तालिम दिएर महिनाकै १५–२० हजार दिन्छौं भन्दा पनि यस क्षेत्रमा काम गर्न आउँदैनन् ।’ उनले ध्वनी प्रदुषण हुन नदिई सुरक्षाका उपकरणको व्यवस्था गर्न पनि व्यवसायीहरुलाई सुझाव दिए ।

सभासद् रविन्द्र अधिकारीले उद्यमशिलताको विकासमा नमुना क्षेत्र भएकाले यो क्षेत्र व्यवस्थित बन्नुपर्नेमा जोड दिए । ‘साना तथा मझौला उद्योगको विकास नभई औद्योगिक विकास सम्भव छैन ।’ उनले भने– ‘यसको विकासका लागि नीति निर्माणमा मेरो आफ्नो ठाउँबाट पहल रहनेछ ।’ सभासद् अधिकारीले सीप विकासका लागि तालिम आवश्यक पर्ने भन्दै यस क्षेत्रको विकासले मुलुकमा आर्थिक उन्नयन हुने बताए ।

अर्का सभासद् सीता गिरी ओलीले देशलाई समृद्धितर्फ लैजान व्यवसायीहरुलाई निर्वाध रुपमा आफ्ना व्यवसाय सञ्चालनको वातावरण आवश्यक पर्ने भन्दै राज्यले यस्ता क्षेत्रहरुलाई हेर्नुपर्ने बताईन् । ‘दैनिक १६ सय युवा काम नपाएको भन्दै विदेशीएको अवस्था छ ।’ उनले भनिन्– ‘उनीहरुलाई स्वरोजगार बनाउन यस्ता संस्थाहरुको भूमिका रहनेछ । निःशुल्क तालिम पश्चात उनीहरुले यहिँ आयआर्जन गर्न सक्छन् ।’ उनले नयाँ संविधानमा व्यवसायिक हक हितलाई समेट्ने प्रयास आफ्नो रहने बताईन् ।

कार्यक्रममा अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष सुरेश अधिकारी, पोखरा हार्डवयर एशोसियसनका अध्यक्ष प्रेमप्रसाद पौडेल, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष विनोद न्यौपाने, विशालबजार व्यवसाय समितिका अध्यक्ष बलराम गौतम, सिद्धार्थ ट्रेडिङका सुरज श्रेष्ठ, उपाध्यक्ष लोकेन्द्र कुँवरले पनि बोलेका थिए ।

एशोसियसनका अध्यक्ष रुद्रलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव यामप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ऋषि गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: